प्रदेश १ मा २४ पुससम्म सरकार गठनका लागि आह्वान

विराटनगर, १७ पुस । प्रदेश नं १ का प्रदेश प्रमुख पर्शुराम खापुङले एक हप्ताकाे समय दिएर प्रदेश सरकार गठनको आव्हान गरेका छन्।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सरकार गठन गर्न प्रमुख खापुङले आव्हान गरेका हुन्।

प्रमुख खापुङले कुनै पनि दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री दाबी गर्न पुस २४ गते आइतबार बेलुकी पाँच बजेसम्मको समय दिएका हुन्।

‘प्रदेश नं. १ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश नं. १ को प्रदेश सभाको सदस्यलाई प्रदेश नं. १ को मुख्यमन्त्री नियुक्त गर्नका लागि मिति २०७९ पुस २४ गते आइतबार बेलुकी ५ बजेभित्र दाबी पेस गर्न माननीय प्रदेश प्रमुखज्यूबाट आव्हान भएको छ,’ प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।