नेपाल टि–२० लिग क्रिकेटमा काठमाडौंले जनकपुरलाई हरायो

काठमाडाैं, १७ पुस । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी पहिलो संस्करणको टि–२० क्रिकेट लिग प्रतियोगितामा काठमाडौं नाइट्सले जनकपुर रोयल्सलाई पराजित गर्दै विजयी भएको छ ।

आज भएको खेलमा काठमाडाैंले जनकपुरलाई ९० रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी भएको हो ।

काठमाडौंले दिएको एक सय ८१ रनको विजयी लक्ष्य पछाएको जनकपुर १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ९० रनमा समेटियो । जनकपुरका लागि अरफुदिन असरफले सर्वाधिक ३३ रनको योगदान दिए भने सोमापाल कामीले २१ रन बनाए ।

त्यस्तै खड्क बोहोराले १० रन बनाउनुबाहेक अन्य व्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । काठमाडाैंका अभिनास बोहोरा एक्लैले चार विकेट लिए भने अजमतुल्लाह उमरजाईले दुई विकेट लिए ।

त्यसैगरी कमलसिंह ऐरी, अनिल खरेल र बसिर अहमदले समान एक/एक विकेट झारे ।

त्यसअघि टस हारेर पहिले व्याटिङको निम्तो पाएको काठमाडाैंले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय ८० रनको योगफाल बनाएको थियो । काठमाडौँका लागि सुनाम गौतमले सर्वाधिक ६२ रनको योगदान दिएका थिए ।

त्यस्तै रायन बर्लले ६१ रन जोडे भने एलेक्स ब्लेकले २०, अजमतुल्लाह उमजाईले १० तथा लोकेश बमले सात रन बनाए । जनकपुरका लागि जितेन्द्र मुखियाले दुई विकेट लिए भने शरफुदिन असरफ र कप्तान ट्राभोल ग्रिफिथले समान एक/एक विकेट लिए ।

यससँगै पाँच खेलको काठमाडौं तीन जितसँगै छ अङ्क जोडेर अङ्क तालिकाको तेस्रो स्थानमा रहेको छ ।