अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनले पोखराका पर्यटन व्यवसायी उत्साहित
कास्की, १९ पुस । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै पोखराका पर्यटन व्यवसायी उत्साहित भएका छन् ।
नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी सदस्य एवं अग्रज पर्यटन व्यवसायी वासु त्रिपाठीले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सारा पोखरेलीको साझा सपना पूरा हुँदा निकै खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “विसं २०३२ मा तत्कालीन अञ्चलाधीश डा शङ्करराज पाठकले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको परिकल्पना गर्नुभएको थियो ।
“उहाँको ऊर्जाशील क्षमताले तत्कालीन समयमा जग्गा अधिग्रहण सम्भव भयो, निरन्तरका प्रयासपछि आज पोखरेलीको सपना पूरा भयो”, उहाँले भन्नुभयो । विमानस्थल सञ्चालनमा आएसँगै पोखरामा विशेष गरी भारतीय धार्मिक पर्यटकको आगमन बढाउन सहयोगी हुने उहाँको विश्वास छ ।
साथै गण्डकी प्रदेश र समग्र नेपालको पर्यटनका साथै आर्थिक, सामाजिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने उहाँको भनाइ छ । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पोखराबासीको विकासप्रतिको एकीकृत धारणाले मात्र सम्भव भएको उहाँको बुझाइ छ ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ राष्ट्रिय गौरबको आयोजना यति छिटो पूरा भएर उद्घाटन हुनु आफैमा गर्वको विषय भएको जनाउँदै अब पोखराको पर्यटनले गति लिनेमा आफू विश्वस्त भएको बताउनुभयो । “पोखरामा विमानस्थल निर्माणलाई तत्काल नै नाफा÷घाटा हेरेर हुँदैन, यसले यहाँको आर्थिक विकासमा दीर्घकालीनरुपमा कसरी लाभ हासिल गर्न सकिन्छ भन्ने विषयमा अबको बहस केन्द्रित गर्नुपर्छ”, श्रेष्ठले भन्नुभयो ।
नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेण्टस (नाट्टा) गण्डकीका अध्यक्ष हरिराम अधिकारीले विमानस्थल सञ्चालनसँगै पोखराको पर्यटन क्षेत्र लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो । “अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भयो, हवाईमार्गले अब पोखरालाई विश्वसँग जोड्ने छ । दिगो पर्यटनका लागि योसँगै अझै थप पूर्वाधार जरुरी छ”, अधिकारीले भन्नुभयो ।
पोखरा पर्यटकका लागि उत्कृष्ट गन्तव्य भएकाले अब सिधैँ विदेशी पर्यटक पोखरा आएर हिमशृङ्खलाको दृश्यवलोकनसँगै तालतलैया र स्वच्छ वातावरणमा रमाउन पाउने र आकर्षक गन्तव्यको रुपमा थप विकास हुने विश्वास व्यक्त गर्नुभयो । “नेपाल भन्ने वित्तिकै विदेशीले पहिले पोखरा सम्झने गर्थे अब सिधँै हवाईमार्गबाट पोखरा घुम्न आउने बाटो खुलेको छ, हामी आशावादी छौँ पोखराको पर्यटनले पक्कै उचाइ चुम्ने छ”, अधिकारीले भन्नुभयो ।
लेखनाथ होटल तथा रेष्टुरेन्ट एशोसियशनका पूर्व अध्यक्ष दामोदारभक्त थापाले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै लेखनाथको पर्यटन प्रवद्र्धन र विकास हुनेमा आशावादी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नयाँ विमानस्थलसँग लेखनाथको बेगनासम्मको दुरी जम्मा १० किलोमिटर छ, यसले साततालको सुन्दरता बोकेको लेखनाथमा पर्यटकीय गतिविधि पक्कै बढाउने छ ।”