थारु समुदायको भाषा, लिपि र संस्कृति संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की

विराटनगर, १७ कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले थारु समुदायको भाषा, लिपि र संस्कृति संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ ।

नेपाल लोकतान्त्रिक थारु सङ्घ सुनसरीले आज झुम्कामा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले थारु भाषा, संस्कृति, उत्थान र प्रगतिका लागि प्रदेश सरकारले काम गरिरहेको बताउनुभएको हो । उहाँले कोशी प्रदेशमा सरकारी कामकाजको भाषामा थारु भाषालाई समेत समावेश गरेर सरकारले ऐतिहासिक काम गरेको उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले विभिन्न जातजाति, धर्म, संस्कृति, खानपान र देवालयहरूको संरक्षण गर्ने उद्देश्यले प्रदेश सरकारले कानुन ल्याउन लागेको जानकारी दिए। बहुभाषिक र बहुजातीय पहिचान बोकेको कोशी प्रदेशका सबै समुदायको पहिचान संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको उहाँको थियो।

नेपालको भाषा, संस्कृति, परम्परा र सभ्यता राष्ट्रिय सम्पत्तिका रूपमा रहेको उल्लेख गर्दै उहाँले नेपालीहरूको विविधताभित्रको एकता नै समृद्धिको मूल आधार भएको बताउनुभयो ।

यसैबीच, मुख्यमन्त्री कार्कीले सुनसरीको मधेलीमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रको नवनिर्मित भवन उद्घाटन गर्नुभयो । करिब दुई बिघा क्षेत्रफलमा फैलिएको उक्त भवनमा दुई हजार पाँच सय भक्तजन अटाउन सक्ने क्षमताको सभाहलसमेत निर्माण गरिएको छ। प्रदेश सरकार, विभिन्न सङ्घसंस्था तथा दाताहरूबाट प्राप्त सहयोग र चन्दाबाट भवन निर्माण गरिएको हो।

भवन उद्घाटन तथा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रको हीरक महोत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले समाजमा मानवता, करुणा र असल संस्कारको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *