मन्त्रिपरिषद्का ६ निर्णय सार्वजनिक
काठमाडौँ, १७ कात्तिक । सरकारले मन्त्रिपरिषद् बैठकका छवटा मुख्य निर्णय सार्वजनिक गरेको छ । मंगलबार दिउँसो बसेको बैठकका निर्णय सरकारका प्रवक्ता सस्मित पोखरेलले सार्वजनिक गर्नुभएको हो ।
बैठकले एसियाली विकास बैंक (एडिबी) बाट सडक सुधारका लागि प्राप्त हुने २८५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण र २० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
त्यस्तै, नेपाल पुनर्बिमा कम्पनी लिमिटेडमा सरकारको थप हकप्रद सेयर लगानी गर्न सहमति प्रदान गर्ने निर्णय भएको छ । नानो फर्टिलाइजर, बायोस्टिमुलेन्ट तथा व्यावसायिक उत्पादन र बिक्री वितरण हुने जैविक एवं प्राङ्गारिक मललाई आवश्यक पदार्थको सूचीमा समावेश गर्ने मल नियन्त्रण आदेश, २०८३ पनि स्वीकृत गरिएको छ ।
बैठकले टर्कीमा कात्तिक २३ देखि मंसिर ४ गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन उच्चस्तरीय प्रतिनिधिमण्डललाई स्वीकृति दिएको छ ।
मोही लागेको जग्गा बाँडफाँट गर्न जग्गावाला र मोहीले निवेदन दिनुपर्ने तथा बाँडफाँटको प्रक्रिया टुङ्ग्याउनुपर्ने अवधि क्रमशः २०८५ कात्तिक र २०८६ असार मसान्तसम्म थप गर्नेगरी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्न पनि स्वीकृति दिइएको छ ।
यसैगरी, प्रेस काउन्सिल ऐन, २०४८ संशोधनसम्बन्धी अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको छ ।
