कांग्रेसलाई खुद्रा खेल नखेल्न र नेकपा एसलाई जुरो हल्लाउने काम बन्द गर्न ओलीको सुझाव

काठमाडौं, २३ पुस । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्षी दल नेपाली कांग्रेसलाई खुद्रा खेल नखेल्न सुझाव दिनुभएको छ । शनिबार राजधानीमा एमाले संसदीय दलको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो सुझाव दिनुभएको हो ।

पछिल्लो समय नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले साना दल राप्रपा र जनता समाजवादी पार्टीलगायतलाई प्रधानमन्त्रीको अफरसहित भेटवार्ता बढाएकोप्रति संकेत गर्दै ओलीले यस्तो सुझाव दिनुभयो ।

‘एउटा पार्टीको अध्यक्षलाई बोलाएर प्रधानमन्त्री तिमी नै हौ भनेछन्,’ देउवाप्रति संकेत गर्दै उहाँले भन्नुभयो, ‘यो संविधानको धारा ७६को (२) को सरकारले विश्वासको मत प्राप्त गरेन भने अर्को कुनै विकल्पमा जाँदै जाँदैन, स्वतः संविधानको धारा ७६ को (३) को सबैभन्दा ठूलो पार्टीको नेताले प्रधानमन्त्री पाउँछ।’ अहिले सबै भन्दा ठूलो दल नेपाली कांग्रेस भएकाले प्रचण्डले विश्वासको मत प्राप्त नगरेको अवस्थामा स्वतः देउवा प्रधामन्त्री हुनुहुन्छ । पुस २६ गते प्रधानमन्त्री प्रचण्डले संसदमा विश्वासको मत लिँदैहुनुहुन्छ । ‘प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस छ,’ उहाँले भन्नुभयो, ‘विश्वासको मत नदिएर सत्तामा जाने प्रयास गरिरहेको छ ।’ उहाँले सभापति देउवालाई सत्तामा कहिले आउने भन्दै प्रश्न समेत गर्नुभयो ।

‘ह्वेन विल यू कम ब्याक (कहिले फर्किनुहुन्छ) ?’ उहाँले नेपाली कांग्रेसले नेकपा एमालेलाई पनि छक्याएर सरकारमा जान खोजेको पनि आरोप लगाउनुभयो । सरकार निर्माण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले ५ बजे सम्मको समय दिँदा छक्याउन खोजेको थाङ्नामा सुताउन खोजेको उहाँको आरोप थियो । ‘आऊ न यहाँ बसेर छलफल गरौं। ५ बजाऔं। ५ बजाएपछि म प्रधानमन्त्री भइहाल्छु तिमीहरू हेर्‍याहेर्याइ गरौला नी भनेर हामीलाई त छक्याउन खोज्छ,’ उहाँले भन्नुभयो । उहाँले छिमेकीहरु ढोकाबाट होइन। पर्खालमाथिबाट कम्पाउण्डमा पसेर सरकार यसरी बनाउन कहाँ पाइन्थ्यो, फेरफार गर्नुपर्छ भनेर लागिरहेका भन्दै यस्ता गतिविधि कुनै पनि मित्र राष्ट्रबाट अपेक्षा नगरिने चेतावनी दिनुभयो ।

‘तपाईंहरू जे सहयोग गर्न सक्नुहुन्छ गर्नुस् तर आन्तरिक मामिलामा हात हाल्ने काम नगर्नुस्,’ उहाँले चेतावनीको भाषामा भन्नुभयो, ‘कुटनीतिक गतिविधिहरू भनिसक्नु छैन। यस प्रकारका तरिकाहरू बन्द गरौं। मित्रको हिसाबले चलौं। सार्वभौम समानताको सिद्धान्त अनुसार चलौं।’ अहिलेको सरकार नेपालीले बलजफ्ती बनाएको उहाँको भनाई थियो ।

ओलीले अब कांग्रेसको ध्यान पाँच वर्ष कुनै कुरामा नभई वर्तमान सरकारको विरोध गर्ने कुरामा रहने दाबी गर्नुभयो । ‘उहाँहरुको ध्यान यो सरकार ढाल्ने कुरामा रहनेछ । किनभने उहाँहरु च्याँखे थापेर बस्नु हुन्छ । २३ सिट हुँदा पनि विभिन्न शक्तिहरु, व्यक्तिहरुको प्रयासहरुबाट काँग्रेसले प्रधानमन्त्री लिएको थियो,’ उहाँले विगतको स्मरण गर्दै भन्नुभयो, ‘अहिले पनि उसले यहाँभित्रको अन्तरविरोधमा खेलेर ढाल्न पायो भने फेरी पनि सरकारको नेतृत्व गर्न पाइन्छ भनेर खेल खेलिरहेको छ ।’

ओलीले नेकपा एसले अहिलेको सरकारलाई र नयाँ परिवर्तन देश र जनताको पक्षमा ठिक छ भन्न समेत नसकेको भन्दै दिशाहीन राजनीतिको औचित्य नरहेको टिप्पणी समेत गर्नुभयो । एस पार्टीले नयाँ सरकार गठन ठिक छ भन्ने फैसला गर्न नसकेको भन्दै जो पायो त्यहिसँग एकता गर्ने भनेर अलमलको नीति लिएको आरोप पनि लगाउनुभयो ।

‘नेकपा एस भन्ने पार्टीको हिजो अस्ति पोलिटब्युरो, स्थायी कमिटी बैठक बस्यो रे,’ उहाँले भन्नुभयो, ‘अहिलेको परिवर्तन ठिक छ,देशभर जनताको पक्षमा नयाँ सरकारको गठन ठिक भन्ने फैसला पनि गर्न सकेन । एमालेसँग पनि एकता गर्ने, जसपा पनि एकता गर्ने वार्ता कमिटी बनाएछ । कस्तो राजनीति,कस्तो दृष्टिकोण हो,पाए कांग्रेसतिर पनि लाग्ने ?’ उहाँले नेकपा एसका अध्यक्ष माधव नेपालतिर संकेत गर्दै अब जुरो हल्लाउने काम छैन भन्दै एमालेलाई दिउँसै टर्च बालेर खोज्नुपर्छ भन्नेहरू राष्ट्रिय पार्टी समेत बन्न नसकेको बताउनुभयो ।

विगतमा दुई पटक पार्टी फुटाउनेहरूको उपलब्धि कांग्रेस जिताउने बाहेक केही नभएको भन्दै ओलीले एमालेसँग मिल्दा ३६ सीट जितेको माओवादीले कांग्रेससँग मिल्दा १८ मा झरेको पनि आरोप लगाउनुभयो । एसको हालत त्यो भन्दा नाजुक भएको उहाँको आरोप थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *