खोटाङको तीन वडामा लिफ्टिङ खानेपानी योजना

खोटाङ, २४ पुस । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको तीन वडामा साप्सुखोलाको पानी निकालेर वितरण गर्ने गरी लिफ्टिङ खानेपानी योजनाको काम सुरु गरिएको छ । वडा नं ३ बाम्राङ, वडा नं ४ खाल्ले र वडा नं ५ लफ्याङमा खानेपानीको सुविधा विस्तार गर्ने उद्देश्यले मेवा दोभान, साप्सु कालिका देवीस्थान लिफ्टिङ खानेपानी योजनाको काम थालिएको हो ।

लफ्याङस्थित साप्सुखोला किनारमा शनिबार आयोजित कार्यक्रममा तत्कालीन संविधानसभा सदस्य अर्जुन राईले विधिवत लिफ्टिङ खानेपानी योजना शिलान्यास गर्नुभएको छ । साप्सुखोलाको पानी पाँच हजार एक सय मिटरमाथि रहेको पर्यटकीयस्थल मझुवागढीस्थित देवीस्थानमा निकालेर दुई हजार तीन सय ८२ घरधुरीलाई वितरण गर्ने गरी लिफ्टिङ खानेपानी योजनाको काम सुरु गरिएको हो ।

सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय खोटाङमार्फत ५४ करोड ६७ लाख ९० हजार सात सय १६ मा मृत सञ्जिवनी–सगरमाथा जेभी काठमाडौँले लिफ्टिङ खानेपानी योजनाको ठेक्का लिएको छ । निर्माण कम्पनीले विसं २०८२ भदौ ४ गतेसम्ममा सम्पन्न गर्ने गरी विसं २०७९ साउन २२ गते लिफ्टिङ खानेपानी योजनाको सम्झौता गरेको हो ।

खानेपानीको बढ्दो समस्या समाधान गर्नका लागि खोलाको पानी निकाल्ने योजना सुरु गरिएको मेवा दोभान, साप्सु कालिका देवीस्थान लिफ्टिङ खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष ललितकुमार राईले बताउनुभयो । निर्माण कम्पनीले विसं २०७९ भदौ ५ गतेदेखि काम सुरु गरेको जनाएको छ ।

लिफ्टिङ खानेपानी योजनाअन्तर्गत ६१ वटा आरभिटी ट्याङ्की, एउटा ट्रिटमेन्ट प्लान्ट, एउटा कार्यालय भवन, एउटा सम्प वेल, सातवटा गार्ड हाउसलगायतका संरचना बन्ने जनाइएको छ । एक सय तीन किलोमिटर वितरण पाइप लाइन र खोलाबाट पाँच हजार एक सय ट्रान्समिसन लाइनको काम हुने निर्माण कम्पनीका इञ्जीनियर हरिदेवकिशोर रजकले जानकारी दिनुभएको छ ।

खोलाको पानी प्रतिसेकेण्ड २५ लिटरका दरले देवीस्थानमा निकाल्ने योजनासहित लिफ्टिङको काम अघि बढाइएको छ । एक मेगावाट क्षमताको मेवाखोला हाइड्रोपावर सञ्चालनमा ल्याएका संविधानसभा सदस्य राईकै पहलमा हाइड्रोपावर नजिकैबाट लिफ्टिङ खानेपानी योजना सुरु गरिएको हो ।