चिकित्सक संघलाई घरानीयाँहरुको क्लबबाट मुक्त गराउन नयाँ नेतृत्व आवश्यक छः डा सन्तोष पौडेल (अन्तर्वार्ता)

नेपालमा निरंकुश जहानीया राणा शासनको अन्त्यसँगै प्रजातन्त्रको उदय हुँदै गर्दा अर्थात २००७ साल फागुन २० गते जन्म भएको नेपाल चिकित्सक संघ (एनएमए) ले आफ्नो स्थापनाको ७२ वर्ष व्यथित गरेको छ । वर्षको हिसावले हेर्ने हो भने एनएमए नेपालको सबै भन्दा पूरानो पेशागत संगठन पनि हो । हो, अहिले त्यहि संगठन आफ्नो २९ औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको सम्मुखमा छ ।

हाल करिब १३ हजार चिकित्सक रहेको यो संस्थाको अहिलेसम्म २८ वटा निर्वाचन सम्पन्न भएका छन् । यी २८ वटै निर्वाचनमा नेतृत्व फेरियो तर एजेण्डा फेरिएन अर्थात स्थापना कालदेखि अहिलेसम्म यो संस्थामा कांग्रेस निकट चिकित्सकहरुले नै नेतृत्व गरे । अझ सरल भाषामा भन्ने हो भने यो संस्था अहिलेसम्म ‘नयाँ वोतलमा पुरानै मदिरा’ जस्तो मात्रै भयो । कांग्रेस निकटका चिकित्सकहरुको संस्था प्रजातान्त्रिक समूहले सात दशकदेखि यो संस्थाको नेतृत्व गरिरहेको छ ।

तर, सात दशकको यो लामो इतिहासमा संस्थामा नेतृत्व फेरिने र निर्वाचनपछि फेरि निर्वाचन गर्ने बाहेक त्यस्तो उल्लेख्य काम हुन नसकेको एनएमएमा आवद्ध चिकित्सकहरुले नै गुनासो गर्ने गरेका छन् । प्रजातान्त्रिक समूह भनिए पनि त्यो समूहबाट हुने गरेका निरंकुश गतिविधिका कारण पनि धेरै चिकित्सक निरास हुने गरेको गुनासो सुनिने गरेको छ ।

विश्वकै बौद्धिक व्यक्तिहरुका रुपमा परिचित चिकित्सकहरु आवद्ध भएको संस्थाले सबै चिकित्सकहरुलाई विश्वास दिलाउन नसक्नु र आवद्ध गराउनु नसक्नुले पनि यो पटक प्रजातान्त्रिक समूहलाई संस्थाको विरासत जोगाउन निकै हम्मे पर्ने अनुमान गरिएको छ । युवा नेतृत्वसँगै प्रगतिशील समूह अहिले प्रष्ट एजेण्डासहित प्रजातान्त्रिक समूहको पुरानो किल्ला भत्काउने अदम्य आँटसहित मैदानमा छ ।

नेपाल मेडिकल एशोसिएसनको तथ्याङ्कलाई हेर्ने हो भने अहिले ३२ हजार चिकित्सक दर्ता भएका छन् । तर, निरंकुश जहानीया राणा शासनको अन्त्य र प्रजातन्त्रको उदयसँगै स्थापना भएको एनएमएमा १२ हजार हाराहारी मात्रै चिकित्सक आवद्ध छन् । अझ निर्वाचनमा सहभागी हुने चिकित्सकको संख्या आवद्ध चिकित्सकहरुको बढीमा ६० प्रतिशत मात्रै मत खस्ने गरेको छ । यो तथ्याङ्कले पनि प्रष्ट के हुन्छ भने नेतृत्व फेरियो तर एजेण्डा फेरिएनन् जसले गर्दा सबै चिकित्सकको भावनाको प्रतिनिधित्व हुन सकेन । जसका कारण आशा भन्दा निरासा बढी भयो ।

अहिले चिकित्सा पेशाको मर्यादा उकास्ने अदम्य आँटसहित पेशागत (प्रगतिशील) समावेशी समूहबाट डाक्टर सन्तोष पौडेल नेतृत्वको समूह चुनावी मैदानमा छ । पौडेल अर्थोपेडिक सर्जन हुनुहुन्छ । प्रजातान्त्रिक समूहबाट डा.अनिलविक्रम कार्की समूह चुनावी मैदान छ । कार्की हालका उपाध्यक्ष हुुनुहुन्छ । पौडेल अहिले चुनावी अभियानका लागि देशदौडाहामा हुनुहुन्छ । सुदुरपश्चिको कैलाली रहनुभएका अध्यक्षका उम्मेदवार डाक्टर पौडेलसँग चुनावी एजेण्डा, संस्था विकासका लागि बनाएका खाकालगायतका विषयमा केन्द्रित भएर मैत्रीन्युजका लागि मोहन बास्तोलाले गरेको कुराकानीः

तपाईँहरु अहिले चुनावी माहोलमा हुनुहुन्छ । चुनावी अभियानकै सिलसिलामा देशदौडाहामा हुनुहुन्छ । कस्तो प्रतिक्रिया प्राप्त भैरहेको छ ?

म अहिले चुनावी अभियानकै सिलसिलामा पूर्वको अभियान सकेर कैलाली आइपुगेको छु । यो अभियानमा मैले भर्खरै चिकित्सक पेशामा आवद्ध हुनुभएका र उर्जाले भरिएका युवादेखि अनुभवले खारिका पुराना चिकित्सकसम्म भेटघाट गर्ने अवसर प्राप्त गरेँ । उहाँहरुको भावनालाई नजिकबाट बुझ्ने सुनौलो अवसर पनि मैले यो अभियानका सिलसिलामा प्राप्त गरेको छु ।

मैले मुख्य गरेर यो अभियानकै सिलसिलामा दुई खालका धारणा प्राप्त गरेको छु । अग्रज चिकित्सकहरु जसले हाम्रो एजेण्डामा भन्दा पनि समग्र स्वाथ्य प्रणालीलाई कसरी अघि बढाउनु हुन्छ ? भन्ने जिज्ञासा हामीसँग गर्नुभएको छ । युवा चिकित्सकहरुले मुख्य गरेर व्यक्तित्व विकास, पेशागत सुरक्षा, अध्ययन र रोजगारीका विषयमा बढी चिन्ता व्यक्त गर्दै जिज्ञासा राख्नु भएको छ ।

हामीले सार्वजनिक गरेका अवधारणा पत्रमा मुख्य गरेर ७ वटा एजेण्डालाई आधार मानेर समग्र चिकित्सा क्षेत्रको सुधारको अभियानसहित हामी अघि चुनावी मैदानमा छौँ । हाम्रा यी एजेण्डाबाट उहाँहरु सकारात्मक भएको हामीले पाएका छौँ । यद्यपि, केही साथीहरुले यी एजेण्डा अलिक बढी महत्वकांक्षी भएकी ? भन्ने प्रश्न पनि गर्नुभएको छ । धेरै चिकित्सकहरुले हाम्रो एजेण्डा अध्ययन गरेपछि ओहो ! यत्तिको सोच्ने नेतृत्वप्रति हामी सकारात्मक छौँ भन्नुभएको छ र उहाँहरुले धेरै उत्साह व्यक्त पनि गर्नुभएको छ । समग्रमा भन्ने हो भने सकारात्मकता र आशावादी सोँच हामीले प्राप्त गरेका छौँ । यसले हामीलाई थप उत्साहित बनाएको छ र मैले यसलाई सकारात्मक उर्जाका रुपमा समेत लिएको छु ।

तपाईँले अघि नै भन्नुभयो । हामीले मुख्य गरेर सात वटा एजेण्डालाई आधार मानेर अवधारणा पत्र सार्वजनिक गरेका छौँ भन्नुभयो । यी एजेण्डाबारे थप केही बताइ दिनु न ?

हामीले सात वटा एजेण्डा भनेर हामीले नम्बर दिएका हौँ । यी सात वटा नम्बर भित्र हामीले धेरै कुरा समेट्ने प्रयास गरेका छौँ । प्राथमिक एजेण्डालाई हामीले सात ठाउँमा बाँडेका हौँ । त्यसमा केही प्रणालीगत सुधारका एजेण्डा छन् । केही रोजगारीका कुरा छन् । केही पेशागत श्रमलाई कसरी व्यवस्थित गर्ने भन्ने कुरा छन् । केही चिकित्सकले कसरी समयको व्यवस्थापन गर्ने भन्ने कुरा छन् । केही मेडिकल एशोसिएसनको संस्थागत सुधारका कुराहरु छन् ।

हामीले सात वटा बुँदामा राख्नुको अर्थ यो हो । त्यस भित्र अन्तरनिहीत सैद्धान्तिक पाटाहरुलाई पनि हामीले उजागर गर्न खोजेको हो । चिकित्सक संघ भनेको अरु ट्रेड युनियन जस्तो आफ्ना संगठनका साथीहरुको हितमा मात्रै केन्द्रित हुँदैन । चिकित्सक संघ भनेको संसारभरीका पेशागत संगठनहरु मध्ये बौद्धिक समूहहरुको संस्था हो । यो संस्थाले लिने निर्णयहरुले देशको स्वास्थ्य प्रणालीलाई नै टेवा दिइरहेको हुन्छ । स्वास्थ्य प्रणालीलाई कसरी सुधार गर्ने भन्ने कुरामा पनि सचेत रहेको हुन्छ । विश्वभरको प्रयोग नै यहि हो ।

यद्यपि, विगतको नेतृत्व अझ पछिल्लो चरणमा आएको नेतृत्व त्यो तहको बौद्धिक बहस गर्न तयार भएन र बौद्धिक खालको प्रभाव दिन पनि सक्षम भएन । एक हिसावले भन्ने हो भने घरानीयाँहरुको क्लब जस्तो मात्रै बनाउने काम भयो । यो संस्थालाई जमघट गर्ने, रमाइलो गर्ने संस्थाका रुपमा मात्रै विकास गर्ने काम भयो । यो दुर्भाग्यपूर्ण कुरा हो । चिकित्सकका हक–हित र नीतिगत विषयलाई यसले उपेक्षा गरिरहेको छ भन्ने हाम्रो बुझाई छ । आम चिकित्सकहरुको बुझाइ पनि त्यही हो । हामीले अघि सारेका एजेण्डा पनि यी र यस्ता विषयमा सुधार गर्नुपर्छ भन्ने प्रष्ट योजनासहितका छन् ।

७२ वर्षको इतिहासमा यो संस्थामा प्रजातान्त्रिक समूहले मात्रै नेतृत्व गरिरहेको छ । यो समग्र अवस्थालाई चाँहि कसरी मूल्याङ्कन गर्नुभएको छ ?

पेशागत संगठनहरु मध्ये यो सबै भन्दा जेठो संगठन हो । यो संस्थाले प्रजातन्त्रप्राप्तिको आन्दोलनमा होस या पेशागत आन्दोलनमा नै किन नहोस् अग्रमोर्चामा रहेर नेतृत्व गर्ने संस्था हो । यसको इतिहासलाई हामीले सम्मान पनि गर्नुपर्छ । देशमा ठूला–ठूला परिवर्तनको आन्दोलनमा चिकित्सक संघ सेतो कोटसहित सडकमा उत्रिएपछि ठूलो तरंग पैदा गर्ने गथ्र्यो । यो गर्विलो इतिहास पनि हो ।

तर, पछिल्लो केही दशकमा यसको नेतृत्वमा आएको बदलाबलाई हेर्ने हो भने निरासा नै निरासाले भरिएको छ । पछिल्लो समय यसको नेतृत्वको मूल्याङ्कन गर्ने हो भने केही घटना घटेपछि विज्ञप्ति निकाल्ने र विरोध गर्ने औपचारिकतामा मात्रै सिमित भएको छ । यो संस्थाले पेशागत हकहित नविनता र सिर्जनात्मक आन्दोलनको नेतृत्व गर्न सकेको छैन । यो संस्था यथास्थितिवादी संस्थाका रुपमा हावी भएको छ । त्यसकारण पनि यो नेतृत्व परिवर्तन आवश्यक छ भन्ने हाम्रो बुझाई हो ।

विगतका केही वर्ष यताको मूल्याङ्कन गर्ने हो नेपाल चिकित्सक संघ आफ्नो होइन व्यक्तिको एजेण्डामा बढी केन्द्रित भएको पाइएको छ । कतिपय एजेण्डा त संस्थागत अवधारणा भन्दा पनि गोविन्द केसी सरका व्यक्तिगत एजेण्डामा लतारिदैँ अघि बढ्यो । यसरी लतारिदाँ संस्थागत निर्णयहरु हुन सकेनन् र प्रणालीगत सुधारमा पनि ठूलो अभाव देखियो । त्यसको परिणाम स्वास्थ्य प्रणालीमै केही जटिलताहरु थपिए । एउटा उदाहरणका रुपमा चिकित्सा शिक्षा आयोगलाई लिन सकिन्छ ।

त्यसले चिकित्सा प्रणालीलाई नै अप्ठ्यारो अवस्थामा ल्याएर छाडेको छ भन्ने आम चिकित्सक साथीहरुको पनि बुझाई छ । त्यसैले यो नेतृत्वबाट अब पार लाग्दैन भन्ने कुरामा धेरै चिकित्सकहरु एक मत रहेको पाइएको छ । युवा चिकित्सकहरु पनि यो सन्दर्भमा ‘कन्भिन्स’ हुनुभएको छ । त्यसैले यो परिवर्तनको चरणमा छ भन्ने हाम्रो बुझाई हो ।

आधिकारिक रुपमा नेपालमा ३२ हजार बढी चिकित्सक छन् । तर, नेतृत्व परिवर्तनको निर्वाचनमा ६–७ हजार मात्रै सहभागी हुने गरेका छन् । सबै चिकित्सकलाई गोलबद्ध गर्ने र उनीहरुमा उत्साह भर्ने तपाईँको समूका केही त्यस्ता एजेण्डा छन् ?

कुनै पनि संस्थाको विकासका लागि सबै भन्दा पहिला संस्था बलियो हुनुपर्छ । त्यहि भएर सबै भन्दा पहिला हामीले चिकित्सक संघलाई बलियो बनाउने कुरा एजेण्डामै समावेश गरेका छौँ । हामीले त्यसलाई ‘संघीयता कार्यान्वयनको आधार चिकित्सक संघमा संरचनात्मक सुधार’ भन्ने नारा नै दिएका छौँ । हाम्रो नेतृत्व लगत्तै हामी संरचनात्मक सुधारको अभियानलाई प्राथमिकताका साथ अघि बढाउछौँ । त्यसमा सबै भन्दा पहिलो काम भनेको नेपालका सबै चिकित्सकहरुले मेरो साझा संस्था, मेरो छाता संस्था भन्ने अपनत्व लिने कुरा हो । हामी त्यसमा जोड दिन्छौँ ।

अहिले एकतिहाइ भन्दा कम चिकित्सकहरुले भोट गरेर सम्पूर्ण चिकित्सकहरुको प्रतिनिधित्व गराउनुपर्ने बाध्यात्मक स्थिति छ । संघमा हाम्रो नेतृत्व भन्ने र हाम्रो विरासत भन्नेहरुको सबै भन्दा ठूलो कमजोरी भनेको नै सदस्यता वितरणमा गरिने कडाई नै मुख्य हो । आफ्नो मान्छे र आफू नजिकका मान्छेलाई मात्रै आफैँले गोजीको पैसा हालेर सदस्य बनाउने र उनीहरुकै मतबाट नेता परम्पराका कारण ठूलो समस्या भएको छ । हामी यो कुराको अन्त्य निर्वाचित हुने वित्तिकैबाट सुरु गर्न चाहन्छौँ । त्यसका लागि हामी निशुल्क फारम भरेपछि नेपाल चिकित्सक संघको सदस्य बन्ने प्रणालीको विकास गर्छौ । त्यसपछि मात्रै चिकित्सक संघ सबै चिकित्सकहरुको छाता संगठन बन्ने छ । त्यसपछि मात्रै हामी चिकित्सहरुको हकहितलगायतका अरु काम अघि बढाउँछौँ ।

मेडिकल काउन्सील भित्र आकस्मिक कल्याणकारी कोषको स्थापना गर्ने, अहिलेसम्म चिकित्सक संघले अहिलेसम्म प्रादेशिक संरचना बनाउन सकेको छैन । हामी त्यो कुरालाई प्राथमिकताका साथ अघि बढाउँछौँ । अहिले आफ्ना मान्छेलाई टपक्क टिपेर नेतृत्वमा ल्याउनका लागि ८ जना उपाध्यक्षको व्यवस्था गर्नुभएको छ । यसको हामीले विरोध गरिरहेका छौँ । हामी नेतृत्वमा आएपछि त्यस्तो कुराको अन्त्यसहित प्रादेशिक संरचनासहित अघि बढ्छौँ ।

प्रमाणलाई नपछ्याउने हो भने चिकित्सा पेशा मर्दै जान्छ । हामी ‘अपडेट भएनौँ भने आउट डेटेट’ हुन्छौँ । यो भनेको संसारभरी के भयो ? चिकित्सा प्रणालीमा नयाँ के कुरा आएको छ ? ती कुरा थाहा पानउका लागि रिसर्च आवश्यक हुन्छ । त्यसैले हामी हाम्रा सबै चिकित्सकलाई रिसर्चसँग जोड्ने योजना बनाएका छौँ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्सँग सहकार्य गरेर हामी देशैभरका चिकित्सकलाई अनुसन्धानसँग जोड्ने योजना अघि बढाउने छौँ । हाम्रा अहिले १६ वटा शाखा रहेका छन् । ती शाखामा इ–पुस्तकालयको पनि स्थापना गरेर रिसर्चमा सहभागी गराउँछौँ ।

त्योसँगै हामी तालिमको पनि व्यवस्था गर्छौ । त्यसले दक्ष चिकित्सकहरु उत्पादनमा थप सहयोग पुग्ने अपेक्षा गरेका छौँ । एउटा अस्पतालमा ठूलो समय दिइरहेको चिकित्सकलाई आफु र आफ्नो परिवारमा विरामी पर्दा संस्थाले नहेर्ने र उपचार गर्न समस्या हुने गरेको छ । त्यसको अन्त्यका लागि हामी संस्थागत रुपमा परिवारको बीमा लगायतका कार्यक्रम अघि बढाउँछौँ । हामी प्रयासमा पनि धेरै गर्न सकिने कामहरु छन् । हामी नेतृत्वमा आएपछि त्यसमा ध्यान दिएर अघि बढछौँ ।

डाक्टर सन्तोष पौडेलले बहुमतसहित विजयी हाँसिल गर्नेमा कत्तिको आशावादी हुनुहुन्छ ?

म आशावादी मात्रै होइन विश्वस्त भैसकेको छु । साथीहरुले सामाजिक सञ्जालमा गरेको पोलिङले पनि हामीलाई जित नजिक देखाएको छ । साथीहरुको उत्साह र सहभागीताले पनि जित नजिक हामी छौँ भन्ने लागेको छ । हाम्रो एजेण्डा पनि जितको आधार हो भन्ने लागेको छ । युवाहरुको भावनालाई मैले बुझेको छु । उहाँहरु पनि अब पुरानो नेतृत्वले हुँदैन भन्नेमा विश्वस्त हुनुहुन्छ । देशको राजनीतिक समीकरणले पनि केही सकारात्मक सन्देश दिएको छ भन्ने लागेको छ । यी सबै कारणले परिवर्तनको पक्षमा आम चिकित्सकहरु लाग्नुहुनेछ भन्ने मैले आशा लिएको छु । मेरा जितका आधार यी नै हुन् ।

अन्तिममा मतदातालाई के भन्नुहुन्छ ?

विगतमा यत्रा निर्वाचनहरु भए । साथीहरु भोट माग्न आए, भोट हालेर जिताएपछि अर्को निर्वाचनमा मात्रै भेट भयो भन्ने धेरैै चिकित्सक साथीहरु भेटेको छु । म तपाईँहरुलाई विश्वास दिलाउन चाहन्छु– डाक्टर सन्तोष पौडेलले निर्वाचित भएर नेतृत्व गर्दै गर्दा जम्मा दुई वटा कुरा गर्छ । एउटा आम चिकित्सकको भावना म बोल्ने छु । दोस्रो भनेको सहभागिता मुलक नेतृत्वको विकास गर्ने छु । त्यो भनेको सबै चिकित्सक साथीहरुलाई समेटेर अघि बढ्ने छु ।

म चिकित्सक संघको अध्यक्ष निर्वाचित भएपछि म नेता होइन प्रतिनिधिको हैसियतमा काम गर्नेछु । तपाईँहरुकाे मतले बनाएको प्रतिनिधि म तपाईँहरुको मनको पनि प्रतिनिधि भएर काम गर्नेछु । त्यसैले आम चिकित्सकहरुलाई परिवर्तनको पक्षमा उभिँन आग्रह गर्दछु ।