गण्डकी प्रदेशका मुख्यमन्त्री खगराजले पाए विश्वासको मत

कास्की, २९ पुस । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन् । उनलाई नेकपा एमालेका २१, माओवादी केन्द्रका ८ र राप्रपाका २ गरी ३१ जना सांसदले पक्षमा मत दिएका छन् भने नेपाली कांग्रेसका २७ सांसदले विपक्षमा मतदान गरेका छन् ।

प्रदेशसभाको अध्यक्षता गरेका एमालेबाटै निर्वाचित ज्येष्ठ सदस्य मित्रलाल बस्यालले मतदानमा भाग लिएनन् ।

स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) भने प्रदेशभा बैठकमा अनुपस्थित रहे । मनाङेले मन्त्री नबन्ने संकेत पाएपछि बिहीबार खगराजलाई विश्वासको मत नदिने र प्रतिपक्षमा बस्ने बताएका थिए ।

एमाले संगठन विभाग प्रमुख खगराजलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले २५ पुसमा मुख्यमन्त्री नियुक्त गरेका थिए ।

संघमा पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसलाई गण्डकीमा पनि खगराजले आफूलाई विश्वासको मत दिन पत्र नै लेखेर अपिल गरेका थिए । तर, शुक्रबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले विश्वासको मत नदिएर प्रतिपक्षमा बस्ने निर्णय गर्‍यो ।

सत्ता गठबन्धनमा भएको सहमति अनुसार गण्डकीमा खगराज प्रदेशसभाको ५ वर्षे कार्यकालको पूरा समय मुख्यमन्त्री रहने छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल एमालेलगायतको समर्थनमा प्रधानमन्त्री बन्ने र प्रदेशमा खगराज एमाले संसदीय दलको नेता बन्नु एकै बेला पर्‍यो ।

०४८ सालदेखि चुनाव लडेका खगराज यसपटक कास्की–१ (१)मा माओवादीका दीपक कोइरालालाई हराउँदै सांसद बनेका हुन् ।