सन्दर्भः माघे संक्रान्ति

चाकु उत्पादन गर्ने टोखामा अहिले छैन ‘तु’

काठमाडौं, २९ पुस । भोलि आइतवार माघ १ गते । हरेक वर्ष माघ १ गते मनाइने माघे संक्रान्तिमा घिउसँगै चाकु, तरुल आदि जस्ता खाद्यान्नहरू खाने गरिन्छ । काठमाडौं उपत्यकामा यो दिनलाई ‘घ्यःचाकु संल्हू’ नामक पर्वकै रुपमा मनाउने परम्परा रहँदै आएको छ ।

घिउ र चाकु खाएर मनाइने पर्व भएकोले पनि यसलाई ‘घ्यःचाकु संल्हू’ भनिएको हो ।

चाकु शरीरलाई ताप प्रदान गर्ने खाद्यान्न हो । माघ महिनाको जाडोमा शरीरलाई आवश्यक पर्ने ताप चाकुबाट प्राप्त गर्न सकिन्छ । त्यही भएर पनि माघको पहिलो दिनलाई चाकु खाएर स्वागत गरिन्छ ।

यो पर्वलाई आवश्यक पर्ने चाकु भने काठमाडौंको उत्तरी भेगमा पर्ने टोखामा उत्पादन गरिन्छ । उपत्यकामा भक्तपुर, थिमि आदि नगरमा पनि चाकु उत्पादन गरिए पनि टोखा भने प्रमुख हो । गएको केही समय अघिदेखि नै टोखा चाकु उत्पादनमा व्यस्त हुन थालेको छ ।

माघे संक्रान्ति सन्मुख आएपछि टोखामा रात दिन नै चाकु बनाउने काम शुरु हुन्छ । यसले चाकु उत्पादकहरूलाई अत्यन्तै व्यस्त बनाइदिन्छ । चाकु उत्पादन सम्बन्धी समाचार रिपोर्ट बनाउन ‘मैत्री न्यूज’ समूह टोखा पुग्दा चाकु उत्पादकहरू कुरा गर्न समेत नभ्याउने व्यस्ततामा थिए ।

चाकु उत्पादनको लागि टोखा देशभरि नै प्रख्यात छ । चाकु बनाउन सख्खर चाहिन्छ । अनि सख्खर बनाउन उखु । कुनै बेला टोखा उखु उब्जनीको लागि प्रख्यात थियो । स्थानीय नेपालभाषामा उखुलाई ‘तु’ भनिन्छ । अनि उब्जाउ हुने भूमिलाई ‘ख्यः’ । ‘तु’ उब्जनी हुने ठाउँ भएकोले यसलाई ‘तुख्यः’ भनियो । त्यही ‘तुख्यः’ शब्द अपभ्रंश भई टोखा बन्न गएको बताइन्छ ।

तर अहिले टोखामा चाकु बनाउने काम भइ नै रहे पनि उखु उत्पादनको काम भने बन्द भइसकेको छ । अहिले टोखामा चाकु बनाउन उखु आउँदैन । कृष्णनगरबाट सिधा सख्खर नै आउने गर्दछ । त्यही सख्खरबाट चाकु र चाकुसँग सम्बन्धित अन्य परिकारहरू बनाउने गरिन्छ ।

टोखाको ‘तु’ अर्थात उखु उत्पादन हुने खेत जम्मै अहिले कंक्रिट घरहरूले भरिसकेको छ । काठमाडौंमा अहिले सबैभन्दा चल्तीका प्लटिङ जग्गाहरू खरिद बिक्री हुने प्रमुख स्थान मध्ये एक हुन पुगेको छ टोखा ।

तर टोखामा ‘तु’ लोप भइसके पनि चाकु उत्पादन भने लोप भइसकेको छैन । त्यो अझ बढिरहेको छ ।

स्थानीय टोखा परम्परागत चाकु संरक्षण समाजका सदस्य शुद्ध श्रेष्ठका अनुसार टोखामा उत्पादन हुने चाकु अहिले नेपालका विभिन्न जिल्ला मात्र होइन अमेरिका, अष्ट्रेलिया, क्यानाडा जस्ता देशका विभिन्न शहरहरूमा पनि पुग्ने गर्दछ ।