घोप्टेभिरको जोखिमपूर्ण पहाड काट्न दैनिक पाँच घण्टा सडक बन्द

चितवन, ६ मङ्सिर । पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्डअन्तर्गत घोप्टेभिरमा जोखिमपूर्ण पहाड काट्न थालिएको छ । शनिबारदेखि दैनिक पाँच घण्टा सवारी आवागमन रोकेर पहाडको झर्न सक्ने भाग हटाउन थालिएको हो ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)का अनुसार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सवारी रोकेर काम भइरहेको छ । करिब एक सय मिटर अग्लो पहाडमा एक्साभेटर पुर्‍याएर चरणबद्ध रूपमा कटान सुरु गरिएको निर्माण कम्पनीले जनाएको छ ।

घोप्टेभिरको मुग्लिनतर्फ १५० मिटर सडक क्षेत्रमा करिब तीन मिटर चौडाइ बढाउनुपर्नेछ । त्यस्तै, चुम्लिङटार र कुरिनटारबीचको डाहाकी खोलामा पनि एक सय मिटर क्षेत्रमा सडक दुई मिटर चौडा गर्ने काम भइरहेको छ ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पाँच दिनभित्र काम सम्पन्न गर्ने गरी निर्माण कम्पनीलाई निर्देशन दिइएको बताउनुभयो ।

झण्डै एक महिनादेखि घोप्टेभिरमा पटकपटक सुक्खा पहिरो खस्दा सवारी आवागमन प्रभावित हुँदै आएको छ । पहिरोसँगै खसेको ढुङ्गाले लागेर एक जनाको मृत्युसमेत भएको छ । राजधानी भित्रिने र बाहिरिने प्रमुख मार्गमा पर्ने यस सडकखण्डमा दैनिक एक हजार ५०० भन्दा बढी सवारीसाधन आवतजावत गर्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *