मुख्यमन्त्री नियुक्त भएको नवौं दिनमा बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत

मकवानपुर, ३ माघ । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाउनु भएको छ ।

उहाँलाई १०५ सांसदले विश्वासको मत दिएका हुन् । मुख्यमन्त्री नियुक्त भएको नवौं दिनमा उहाँले विश्वासको मत पाउनु भएको हो ।

प्रदेश सभाका सभामुख भुवन पाठकले प्रस्तावको पक्षमा १०५ र विपक्षमा ३ मत खसेको सदनलाई जानकारी दिनुभयो। ११० सदस्यीय प्रदेशसभामा १ जना सांसद अनुपस्थित रहे ।

जमकट्टेलले प्रदेशसभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसको पनि विश्वासको मत प्राप्त गर्नु भएको छ भने प्रदेश सभामा प्रतिनिधित्व गर्ने सातमध्ये छ दलले उहाँलाई विश्वासको मत दिएको छ ।

पुस २५ गते मुख्यमन्त्री नियुक्त हुँदा जमकट्टेललाई नेपाली कांग्रेसले समर्थन गरेको थिएन । नेपाली कांग्रेस कार्यसम्पादन समितिको मंगलबार बिहान बसेको बैठकले मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिन संसदीय दललाई निर्देशन दिने निर्णय गरेको थियो ।