यू-२२ एसियन बक्सिङ च्याम्पियनसिप खेलको फाइनलमा पुगिन् सुष्मा तामाङ

काठमाडौं, ८ माघ । नेपाली बक्सिङ खेलाडी सुष्मा तामाङले एएसबीसी यू–२२ पुरुष र महिला बक्सिङ च्याम्पियनसिपको ऐतिहासिक फाइनलमा पुगेकी छन् ।

४८ केजी तौलसमूह अन्तरगत थाइल्याण्डमा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा सुष्माले मंगोलियाकी बाइसेनबाई जनरगुली आरएससीका आधारमा पराजित गरी रजत पक्का गरेकी हुन् ।

एसियालीस्तरको आधिकारिक प्रतियोगितामा नेपाली खेलाडी फाइनलमा पुगेको यो पहिलो अवसर हो । उनले बुधबार स्वर्ण पदकका लागि उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग खेल्नेछिन् ।

यसअघि सुष्माले क्वाटरफाइनलमा भियातनामकी फाम थी किनहानलाई हराएकी थिइन् । प्रतियोगितामा नेपालबाट ३ महिला र ३ पुरुष खेलाडीको सहभागिता छ ।

महिलातर्फ आइतबार नै हुमा राईले ५७ केजी तौलसमूहको सेमिफाइनलमा मंगोलियाकी बत्तुर जोल्जार्गलसँग फाइनल प्रवेशका लागि खेल्नेछिन् । उनले् यसअघि क्वाटरफाइनलमा सिंगापुरकी चाओ जी मिन बेरनिसलाई पराजित गरिन् ।

बाइ पाएर कम्तिमा कांस्य पदक पक्का गरेकी त्रिशा जगेवुले ७५ केजी तौलसमूहको फाइनल प्रवेशका लागि बुधबारै काजाकस्तानकी यार्झान गुल्सायासँग खेल्दैछिन् ।

पुरुषतर्फ ४८ केजी तौलसमूहका लालप्रसाद उप्रेती र ५७ केजी तौलसमूहमा इन्द्रबहादुर सुनार भने क्वाटरफाइनलमा पराजित भइसकेका छन् । ८६ केजी तौलसमूहका विजय बाटा बाइ पाएर कम्तिमा कांस्यको हकदार बनिसकेका छन् । सेमिफाइनलमा उनले भारतका मुस्किता माइखेलसँग खेल्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *