सन्दीप लामिछानेलाई टिममा फर्काउने बारे छलफलमा जुट्दै छौं : क्यान

काठमाडौं,१२ माघ । नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कारको आरोपमा निलम्बनमा परेका क्रिकेटर सन्दीप लामिछानेलाई टिममा फर्काउने बारेमा आफूहरु छलफलमा रहेको बताएको छ ।

काठमाडौंमा आज भएको पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालको विद्यमान कानूनले जे अनुमति दिन्छ त्यसै अनुसार अघि बढ्ने बताएका हुन् ।
‘आईसीसीले पनि नेपालको कानुनले जे भन्छ, त्यही अनुसार गर भनेको छ,’ चन्दले भने, ‘के गर्ने भनेर हामी सरोकारवालासँग छलफलमा छौं ।

बलात्कारको आरोपमा थुनामा रहेका सन्दीपलाई उच्च अदालत पाटनले काठमाडौं उपत्यकाबाट बाहिर जान नपाउने गरी २० लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो ।

थुनाबाट रिहा भएकाले उनलाई टिममा फर्काउनु पर्ने एकथरीको माग छ भने उनीमाथि बलात्कारको आरोप कायमै रहेकाले टिममा फर्काउन नहुने अर्काथरीको भनाइ छ ।