महिला टि–२० क्रिकेट : देहिमाडौँ च्याम्पियन
बैतडी, १८ माघ । बैतडीको दशरथचन्द नगरपालिकामा सम्पन्न नगरस्तरीय महिला टि–२० क्रिकेट प्रतियोगिताको उपाधि दशरथचन्द नगरपालिका २ देहिमाडौँले हात पारेको छ । मङ्गलबार सम्पन्न फाइनल खेलमा दनपा ८ त्रिपुरालाई सात विकेटले हराउँदै देहिमाडौँले उपाधिमाथि कब्जा जमाएको हो ।
उपाधिसँगै देहिमाडौँले २५ हजार, ट्रफी, मेडल प्राप्त गर्यो । त्रिपुराले १५ हजार, ट्रफी, मेडलमा चित्त बुझायो । जितका लागि पाएको ६० रनको सामान्य लक्ष्य देहिमाडौँले सात दशमलव पाँच ओभरमा तीन विकेटको क्षतिमा पूरा गर्यो । कप्तान पिङ्की बोहराले अविजित २०, मनिषा बोहराले ११ र कविता बोहरा अविजित १० रनको योगदान गरिन् । त्रिपुराका लागि करिश्मा थापा, जानकी थापा, जानवी मौनी एक–एक विकेट लिइन् ।
त्यसअघि निंग्लाशैनी खेलमैदानमा टस जितेर पहिला ब्याटिङ गरेको त्रिपुराले १४ दशमलव तीन ओभरमा ५९ रन बनाउँदै सबै विकेट गुमायो । उसका लागि माया टमटाले १० रन बनाइन् । देहिमाडौँका लागि निर्मला बोहरा, आरती बोहरा, वसन्ती बोहराले तीन–तीन विकेट हात पारिन् । देहिमाडौँकी वसन्ती बोहरा वुमन अफ दी फाइनल घोषित भएकी स्कोरर द्रोपती कुँवरले जानकारी दिइन् ।
यसैबीच प्रतियोगिताभर व्यक्तिगत एक सय ४९ रन र पाँच विकेट हात पारेकी देहिमाडौँकी कप्तान पिङ्की बोहरा सर्वोत्कृष्ट खेलाडी चुनिइन् । उनले रु तीन हजार पुरस्कार पाइन् । यस्तै १० विकेट लिएकी देहिमाडौँकी वसन्ती बोहरा उत्कृष्ट बलर र एक सय ४९ रन बनाएकी देहिमाडौँकी पिङ्की बोहरा उत्कृष्ट ब्याटर चुनिइन् । दुवैले जनही रु एक हजार पाँच सय पुरस्कार पाए । यस्तै दनपा ९ ग्वाल्लेकको टोली अनुशासित टोली बन्यो । दनपा १० बाराकोटकी पियान्सी चन्द उदीयमान खेलाडी घोषित भइन् ।
सहिद दिवसका अवसरमा दशरथचन्द नगरपालिकाको वार्षिक कार्यक्रम र नगर खेलकुद विकास समितिको आयोजनामा यही माघ ९ गतेदेखि सुरू भएको प्रतियोगितामा नगरका सात टोली सहभागी थिए ।