मध्यावधि निर्वाचन पाँच वर्षपछि एकैचोटि हुन्छः केपी शर्मा ओली (अन्तर्वार्ता)
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै राजनीतिक एजेण्डाहरु र ती एजेण्डा कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँले ती प्रतिवद्धतासहितको एमाले अहिलेको गठबन्धन टुटाउने अवस्थमा नरहेको पनि जानकारी दिनुभएको छ । उहाँलाई सञ्चारकर्मीहरुले सोधेका प्रश्न र उहाँले दिनुभएको जवाफः
अहिलेको गठबन्धन संकटमा परेको भन्ने चर्चा छ । यो सरकारलाई कसरी टिकाउनु हुन्छ ?
मुख्यकुरा राजनीतिक एजेण्डाहरु र ती एजेण्डा कार्यान्वयन गर्ने प्रतिवद्धताको कुरा हो । तपाईँहरुले भने जस्तो सरकार संकटमा पर्छ जस्तो लाग्दैन । जहाँसम्म अस्थिरताका कुरा छ । त्यो त हाम्रो प्रणालीमै अस्थिरता रोपिएको छ । यदि तपाईँहरुलाई सम्झना छ भने मैले निर्वाचनको लगत्तै देश असाधारण अस्थिरतामा भनेको थिएँ । अहिले पनि नेपाल स्थिरतामा रहन सकिरहेको छैन वा पाएको छैन । पहिला राणा शासन हुँदा जहानियाँ शासनको हिसावले चल्नु वा राजतन्त्र र मुखियातन्त्र हुँदा दमन र नियन्त्रणका भरमा चल्नु एउटा कुरा हो । तर, जबजब हामीले प्रजातन्त्र भन्यौँ । तबतब अस्थिरता बढ्दै गयो । २००७ सालमा राणा शासन हटेपछि अहिलेसम्म कुनै पनि सरकार स्थिर हुन सकेका छैनन् ।
निर्वाचन प्रणाली कि शासन प्रणालीमा समस्या छ ?
कुरा निर्वाचन प्रणालीको होइन कुरा शासन प्रणालीको हो । तर, शासन प्रणालीलाई कस्तो संरचनाबाट लैजाने भन्ने कुरा र निर्वाचनको विधि पनि कसरी बढाउने भन्ने कुरा हुन्छ । लोकतन्त्र प्रमुख कुरा हो । लोकतन्त्रलाई कसरी हामीले बढी संस्थागत गर्न सक्छौँ । त्यो मुख्य कुरा हो ।
अब के संविधान संशोधनकै प्रक्रियामा अघि बढ्नु पर्ने अवस्था हो ?
संविधान संशोधन नै गर्न नसकिने कुरा होइन । तर, अहिले संविधान संशोधनको चर्चा गरिहाल्ने बेला भएको छैन । किनभने भर्खर निर्वाचन सम्पन्न भएको छ । भर्खर सरकार बनेको छ । भर्खरै न्युनतम साझा कार्यक्रमहरु ल्याइएको छ । यद्यपि, लोकतन्त्रका विरुद्धका षडयन्त्रहरु पनि कायम छन् । ती षडयन्त्र अत्यन्तै भद्दा र तिव्र ढंगले भैरहेका छन् । यी कुरासँग नेपाली जनता सजग हुनुपर्छ ।
राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा नेपाली कांग्रेसको अर्गेलाईँलाई के भन्नुहुन्छ ?
नेपाली कांग्रेसले राजनीतिक संस्कार र स्तर कायम नराखेको हो कि । कांग्रेसले राष्ट्रपतिको उम्मेदवार हुन्छु भन्नु, हामीलाई दिनुहोस् भन्नु, हामीले पाउनुपर्छ भन्नु अनौठो कुरा होइन ।
राष्ट्रपतिमा सत्तापक्षको उम्मेदवार हुन्छ कि एमालेको ?
एमालेको उम्मेदवार भनेको सत्तापक्षको उम्मेदवार हो । एमालेको उम्मेदवार भनेको अहिलेको नयाँ समिकरणको उम्मेदवार हो ।
माओवादीले भने जस्तै राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमतिको हुने संभावना छ ?
माओवादीले भनेको राष्ट्रिय सहमति अहिलेको सत्तापक्षको उम्मेदवारमा भनेको हो । यसमा कांग्रेसले पनि समर्थन गर्ने भनेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई नै गृहमन्त्री बनाउनुपर्छ भन्ने एमालेको लाइन र नबनाउने प्रधानमन्त्रीको लाइनबारे प्रष्ट पार्दिनुहोस् न ? के यहि विषयलाई लिएर सत्ता
गठबन्धनमा खटपट सुरु भएको हो ?
सहमति के भएको हो भन्ने कुरा तपाईँहरुलाई थाहा नै छ । कुन–कुन पार्टीले के–के लिने सहमति भएको हो भन्ने कुरा पनि तपाईँहरुलाई थाहा छ । त्यसै अनुसार अघि बढ्नुपर्छ । राष्ट्रिय स्वतन्त्र पार्टीलाई उपप्रधान तथा गृहमन्त्री र अरु मन्त्री दिने कुरा पनि सहमति अुनसार नै भएको हो । त्यो कुरा पनि तपाईँहरुलाई थाहा भएकै कुरा हो । त्यसैले सहमति अुनसार नै जानुपर्छ ।
कांग्रेसले गृहमन्त्री दिएको अवस्थामा सरकारमा आउने भनेको छ नि ?
कांग्रेस गृहराज्यमन्त्री दिदाँ आउँछ ।
सहमति अनुसार नभएकाले यो खटपट भएको हो कि ?
छलफल भैरहेको छ । त्यस्तो खटपट भन्ने कुरा पनि छैन ।
रवि लामिछानेले गृहमन्त्री बन्न खोजेका कारण समस्या भएको हो भन्ने पनि छ नि ?
हामीले गृहमन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीले रवि लामिछानेलाई गृहमन्त्री आफ्नो अध्यक्षलाई बनाउनुपर्छ भनेको हो । अहिले पनि हामीले सहमति अनुसार गृहमन्त्रालय दिएको भनेको रास्वपालाई नै हो । अब उनीहरुलाई गृहमन्त्री नदिने एकतर्फी रुपमा छुट्टै ढंगको निर्णय गर्ने भन्ने कुराले अप्ठ्यारो पैदा गर्छ । त्यसैले यो विषयमा हामी छलफलमा छौँ । धेरै ठूलो छलफल आवश्यक छैन ।
प्रधानमन्त्रीले त अदालतको पूर्णपाठ नआउन्जेल गृह आफैँसँग राख्ने भन्नुभएको भन्ने छ नि ?
अदालतको पुर्णपाठ किन चाहियो ? पाठ भै सक्यो, कण्ठ गर्ने हो ? पूर्णपाठ ?
रवि लामिछानेलाई गृहमन्त्री बनाउनुपर्छ भन्ने तपाईँको कुरा हो ?
कस्लाई गृहमन्त्री बनाउने भन्ने कुरा त राष्ट्रिय स्वतन्त्र पार्टीको कुरा हो । हामीले गृहमन्त्री त्यो पार्टीलाई दिएका हौँ । त्यो पार्टीले रवि लामिछानेजीलाई गृहमन्त्री तोकेको हो । त्यहि अनुसार सरकार बनाए हौँ । फेरि पनि रवि लामिछानेजीलाई नै दिनुपर्छ भन्छ भने त्यो उसको कुरा हो । हामीले गृहमन्त्री रास्वपालाई दिएको हो ।
मध्यमवधि निर्वाचनको सम्भावना देखिएको हो ?
मध्यावधि पाँच वर्षपछि एकैचोटि हुन्छ ।