नेपाली टिम घोषणा, सन्दीपको राष्ट्रिय टिममा ५ महिनापछि पुनरागमन
काठमाडौं, १९ माघ । नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले बुधबार पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेसँगै बलात्कार अभियोगपछि साढे तीन महिना निलम्बनमा पर्नुभएका उहाँ राष्ट्रिय क्रिकेट टिममा समावेश हुनुभएको छ ।
लामिछानेलाई टिममा समावेश गर्दै आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्डबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि क्यानले दोस्रो चरणको राष्ट्रिय क्रिकेट टिम पनि घोषणा गरेको छ। सो टिममा लामिछाने पनि समेटिनु भएको छ ।
दोस्रो चरणको बन्द प्रशिक्षणका लागि क्यानले २० जनाको टिम बिहीबार साँझ क्यानले घोषणा गरेको हो। यसअघि पहिलो चरणमा २८ सदस्यीय टिम घोषणा भएको थियो। टिम घोषणसँगै लामिछानेलाई आजदेखि होटलमा राखिएको क्यानले जानकारी दिएको छ । शुक्रबार उहाँको फिटनेस परीक्षण हुनेछ ।
नेपालको दोस्रो चरणको टिम
कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्शन झा, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, ललित राजवंशी, सन्दीप जोरा, भीम सार्की, प्रतिश जिसी, कमलसिंह ऐरी, किशोर महतो, मौसम ढकाल, सूर्य तामाङ र अर्जुन साउद
नेपालले लिग–२ मा आफ्नो दोस्रो सिरिज घरेलु मैदानमा खेल्न लागेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने सिरिज फागुन २ मा सुरू भएर फागुन ९ मा सकिनेछ। लिग–२ को ९ वटा सिरिज मध्ये नेपालले आफ्नो सातौं सिरिज खेल्न लागेको हो। यो सिरिजपछि नेपालले पपुवा न्युगिनी र युएईविरुद्धको सिरिज घरेलु मैदानमा खेल्नेछ भने यी दुवै टिमविरुद्धको अन्तिम सिरिज पपुवा न्युगिनीमा खेल्नेछ। दुवै सिरिजको मिति पक्का भइसकेको छैन।
