यात्रा अनुभव

शे फोक्सुण्डोको एक फन्को

काठमाडौं, २१ माघ । जस जसले नेपाललाई स्वर्गको टुक्रा जस्तो देश भने, उनीहरुले अवश्य पनि डोल्पाको शे फोक्सुण्डो पुगेपछि नै यस्तो अभिव्यक्ति दिएको हुनुपर्छ । किनभने शे फोक्सुण्डो पुगेका जोसुकैले पनि त्यहाँ पुग्ने बित्तिकै आफू एकछिन स्वर्गमै पुगे जस्तो अनुभव गर्छन् ।

वास्तवमै शे फोक्सुण्डो स्वर्गको टुक्रा जस्तै छ । शे फोक्सुण्डो जस्ता मनमोहक ठाउँहरु भएकै कारणले पनि होला, विदेशीहरूले नेपाललाई सांग्रीला भनेर सम्बोधन गरेको । शे फोक्सुण्डोलाई विश्वकै सबैभन्दा सुन्दर स्थानहरु मध्ये एक भनेर बयान गरिएको छ ।

दुर्गम जिल्ला डोल्पामा पर्दछ शे फोक्सुण्डो । डोल्पामा पनि अलि माथितिर अपर डोल्पा भन्ने अर्को ठाउँ पनि छ । सिनेमाटोग्राफर एरिक भालीले निर्माण गरेको प्रशिद्ध फिल्म ‘क्याराभान’ को शुटिंग यही अपर डोल्पामा भएको हो । शे फोक्सुण्डो अपर डोल्पाकै मुनितिर अवस्थित छ ।

समुद्री सतहबाट ३५८९ मिटर माथि रहेको यो तालको सबैभन्दा प्रमुख विशेषता भनेको यहाँको पानी अहिले पनि उतिकै कञ्चन र उतिकै हरियो देखिन्छ । यसलाई संसारकै ‘भर्जिन’ तालहरु मध्ये एक मानिएको छ । नेपालमा विद्यमान यो सबैभन्दा गहिरो ताल हो । यो तालको गहिराई १४५ मिटर रहेको बताइन्छ ।

भर्जिन ताल भएकोले यहाँ डुंगा चलाउने वा नुहाउने आदि जस्ता कार्य गर्न वर्जित गरिएको छ । यो स्थानीय शेर्पा समुदायको पवित्र तीर्थस्थल पनि हो ।

नेपालमा पर्यटकहरु घुम्न जाने चल्तीको स्थान हो सगरमाथा आधार शिविर । आधार शिविर अहिले पूरै व्यावसायिक भइसकेको छ । यसको तुलनामा शे फोक्सुण्डो अझै नयाँ हो । यति रमणीय र सुन्दर स्थान भए पनि यहाँ घुम्न आउने पर्यटकहरूको संख्या भने साह्रै कम मात्रै देखिन्छ ।

शे फोक्सुण्डो पर्यटकीय दृष्टिकोणले त्यति चल्ती भइसकेको छैन । त्यसैले यहाँको खर्च पनि त्यति महँगो देखिँदैन । राज्यले पनि यो ठाउँलाई पर्यटकीय दृष्टिकोणले विकास गर्न कुनै कार्य अघि बढाएको जस्तो देखिँदैन । यहाँ होटल, पर्यटक ट्रायक आदि कुनै पनि पूर्वाधार बनाएको पाइँदैन ।

होटल त खास छैन नै भन्दा हुन्छ । सामान्य पसलहरु मात्रै हो जहाँ एक छाक साकाहारी भातको रु. २०० लिइन्छ । होटलका् कोठामा पनि एक हजारमा चार जना सुत्न पाइन्छ ।

सगरमाथा बेस क्याम्प घुम्न कम्तीमा पनि १२ दिन जति लाग्छ । शे फोक्सुण्डो घुम्न छ दिन भए पुग्छ । तर धेरै ठाउँमा हिँडेरै जानुपर्ने हुन्छ । तर जति नै हिँड्नु परे पनि जब शे फोक्सुण्डो ताल देखिन्छ, तब भने खुट्टाको थकाइ पनि आफै हराएर जान्छ ।

सरकारले शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज बनाएर यो ठाउँलाई सुरक्षित गरेको छ । यो नेपालको सबैभन्दा उच्चस्थानमा रहेको राष्ट्रिय निकुञ्ज हो, साथै सबैभन्दा ठूलो पनि । डोल्पा र मुगु गरी दुई जिल्ला मिलाएर गठन गरिएको यो राष्ट्रिय निकुञ्ज क्षेत्रबाट देखिने प्राकृतिक दृश्यलाई संसारकै सबैभन्दा सुन्दर दृश्य भनेर पनि प्रशंसा गरिएको छ । यो क्षेत्र नेपालको सबैभन्दा प्रमुख सिमसार क्षेत्र पनि हो । यो तालबाट बगेर पानी भेरी नदीमा मिसिन जान्छ ।

सगरमाथा बेस क्याम्प (५ हजार मिटर) भन्दा कम उचाइ भएकोले शे फोक्सुण्डोमा लेक लाग्ने खतरा पनि खासै छैन । यहाँ पुगे पछि उतैबाट मुगुको रारा ताल पनि जान सकिन्छ । यहाँ ११ औं शताब्दीमा निर्माण गरिएको प्रशिद्ध शे गुम्बा लगायत अरु २० भन्दा बढी बौद्ध गुम्बाहरू रहेका छन् ।

नेपालमा पुग्नै पर्ने केही प्रमुख स्थानहरू मध्ये शे फोक्सुण्डो पनि एक हो ।