प्रेस चौतारी नेपालको २५औं स्थापना दिवस मुलुकभरी नै विविध कार्यक्रमसहित मनाइयो

काठमाडौं, २२ माघ । २०५५ साल माघ २२ गते स्थापना भएको प्रेस चौतारी नेपालले आज आफ्नो स्थापना दिवस मनाएको छ । ७ प्रदेशका ७७ वटै जिल्ला समितिहरुले आ–आफ्नै ढंगले स्थापना दिवस विभिन्न कार्यक्रमसहित मनाएका छन् भने केन्द्रीय कमिटी र प्रतिष्ठान, उपत्यका र एशोसियट प्रदेशले पनि स्थापना दिवस मनाएका छन् । आज केन्द्रीय कमिटीले एमालेका उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्रीको प्रमुख आथित्यतामा राजधानीमा कार्यक्रम गरेको छ ।

२०५५ साल माघ २२ गते स्थापना भएको प्रेस चौतारी नेपाल स्थापना हुनुअघि प्रगतिशील पत्रकार समूह अस्तित्वमा थियो । तत्कालीन नेकपा (एमाले) का प्रचार बिभाग प्रमुख एवं पूर्वसञ्चारमन्त्री प्रदीप नेपालको योजना र अग्रज पत्रकार तथा लेखक अग्नि शिखा, बरिष्ठ पत्रकार गोपाल थपलिया लगायत तीन दर्जन अग्रज पत्रकारहरूको पहलकदमीमा प्रेस चौतारी नेपालको स्थापना भएको हो ।

बहुदलीय लोकतान्त्रिक परिपाटीको प्रवद्र्धन, खोजपूर्ण, व्यवसायिक एवं अनुसन्धानमूलक पत्रकारिता सम्बद्ध क्रियाकलापहरूको सञ्चालन गर्ने असल उद्देश्यका साथ स्थापना भएको प्रेस चौतारी नेपालले अहिले ७७ वटै जिल्लासम्म संगठन विस्तार गरेको छ । प्रेस चौतारी नेपालका संस्थापक सदस्यमध्येका एक गणेश वस्नेत वर्तमान कार्यसमितिमा अध्यक्ष हुनुहुन्छ ।

प्रेस चौतारी नेपालको संस्थापक सदस्यहरूमा गोपाल थपलिया, अग्निशिखा (स्वर्गीय), कुन्दन अर्याल, विजय चालिसे, जनार्दन पुडासैनी (राजव), युवनाथ लम्साल, शम्भु श्रेष्ठ,बालकुमार नेपाल, कुमार भट्टराई, गोकुल प्रसाद बाँस्कोटा, महेन्द्र विष्ट, गगन विष्ट, राजेन्द्रबहादुर अर्याल, प्रमोद दाहाल, गणेश बस्नेत, आरके धर्मस्थली, सुशीलवीर सिंह कंशाकार, विवशराज श्रेष्ठ, राजेन्द्रबहादुर अर्याल, हेम पाठक, श्रीधर आचार्य, टंक पन्त, केपी गौतमलगायत २७ जना हुनुहुन्थ्यो । विजयकुमार चालिसेको नेतृत्वमा १२ सदस्यीय तदर्थ समिति बनेको थियो । यहि संस्थाले आज आफ्नो स्थापना दिवस मनाएको हो ।

यो दिवसको अवसर पारेर चौतारीले हृदयचन्द्र सिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार डा. बालकृष्ण चापागाईँ, अग्नि शिखा स्मृति पत्रकारिता पुरस्कार, कृष्ण केसी, डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार, याम शर्मा, वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार, लक्ष्मी साह, सावित्रीदेवी–पद्‍मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कार, लीलाराज भट्टराई र चन्द्र न्यौपाने–शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार ममता भट्टलाई दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *