साफ यू -२० महिला च्याम्पियनसिप : नेपालले आज भारतसँग खेल्दै
काठमाडौं, २४ माघ । बंगलादेशको ढाकामा भइरहेको साफ यू – २० महिला च्याम्पियनसिप लिगको अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ । ढाकास्थित बिएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने तीन बजे खेल सुरु हुनेछ ।
दुवै टोलीका लागि फाइनलमा स्थान बनाउन यो खेल महत्वपूर्ण छ । चार राष्ट्र सहभागी च्याम्पियनसिपमा भारत एक जित र एक बराबरीबाट ४ अंक जोड्दै शीर्ष स्थानमा छ । उति नै अंक भएको घरेलु टोली बंगलादेश गोल अन्तरमा पछि रहेर दोस्रोमा छ ।
एक हार र एक जितबाट नेपालको तीन अंक छ र तेस्रो स्थानमा छ । पहिलो खेलमै घरेलु टोली बंगलादेशसँग ३-१ ले पराजित भएको नेपालले दोस्रो खेलमा भुटानलाई ४-० ले हराएको थियो ।
तुलनात्मक रुपमा भारत बलियो प्रतिद्वन्द्वी भएकोले नेपालका लागि फाइनल पुग्न ठूलाे चुनौती रहेकाे छ । नेपालसँग पराजित हुँदा भारत बाहिने अवस्था रहेको छ । नेपालका प्रशिक्षक यामबहादुर गुरुङले भारत बलियो टिम भएको तर तयारी राम्रो गरेको बताउनु भएकाे छ ।
