टर्कीमा गएकाे भूकम्पमा झण्डै आठ हजार जनाको मृत्यु

एजेन्सी, २५ माघ । टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म सात हजार नौ सय जनाको मृत्यु भएको छ ।

हालसम्म टर्कीमा पाँच हजार आठ सय ९४ र सिरियामा दुई हजार ३२ जनाले ज्यान गुमाएका सरकारी अधिकारीहरूले बताएका छन् ।

प्रतिकूल मौसमको परबाह नगरी भत्किएका भवनका भग्नावशेषबाट बाँचेकाहरूलाई बाहिर निकाल्न उद्धारकर्ताहरू सङ्घर्ष गरिरहेका छन् । उद्धार तथा राहतको अनुगमन एवम् समन्वय गरिरहेका संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले २० हजार मानिस हताहत भएका अनुमान गरेका छन् ।

उद्धार तथा राहतका काम प्रभावकारी ढङ्गले अघि बढाउन विश्वका विभिन्न मुलुकले सहयोगी टोली परिचालन गरेका छन् । टर्कीका विपद् व्यवस्थापन निकायका अधिकारीले २४ हजार चार सय कर्मचारी भूकम्प प्रभावित स्थानमा परिचालन भएका बताएका छन् ।

करिब छ हजार भवन भत्केकाले सबै स्थानमा सहायता परिचालन गर्न कठिन भएको छ । सोमबार र मङ्गलबार कठ्याङ्ग्रिने चिसो तथा बारम्बारको पराकम्पका कारण उद्धार तथा राहतका कामलाई द्रुत गतिमा सम्पादन गर्न हम्मेहम्मे परेको थियो ।

टर्कीका राष्ट्रपति तैयप एर्दोगानले अति प्रभावित दश प्रान्तमा सङ्कटकाल घोषणा गर्नुभएको छ । क्षतिग्रस्त टर्की सहरका बासिन्दा पर्याप्त सहायता प्राप्त नभएकामा निराश भएका छन् । उनीहरूले छानोबिना आफूहरू हिउँमा बस्नु परेको, आफ्ना आफन्त वेपत्ता भएका, उद्धारले अपेक्षित गति नलिएकामा दुःख व्यक्त गरेका छन् ।

सोमबार गएकाे ७.८ म्याग्निच्युडको भूकम्प र त्यसको केही घण्टापछि झण्डै त्यति नै शक्तिशाली दोस्रो पराकम्पले अस्पताल, विद्यालय र आवासीय भवनहरू ध्वस्त हुनाका साथै हजारौँ घाइते भएका छन् । उत्तरी सिरियामा पनि असङ्ख्य मानिस घरबारविहीन भएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *