नेकपा माओवादी केन्द्रमा स्थायीदेखि वैकल्पिक केन्द्रीय समितिसम्म पुरानै कार्यविभाजनसहित पूर्णता

काठमाडौं, २६ माघ । नेकपा माओवादी केन्द्रले पुरानै कार्यविभाजनसहित विभिन्न समितिलाई पूर्णता दिएको छ ।

माओवादी केन्द्रको सम्पन्न स्थायी कमिटी बैठकले स्थायी समिति, केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय समितिसमेतलाई पूर्णता दिएको हो ।

माओवादी स्रोतका अनुसार पदाधिकारीमा अध्यक्ष प्रचण्डसहित २२ जना रहेका छन् । यस्तै स्थायी कमिटीमा ४४ जना, केन्द्रीय समितिमा ३८६ जना रहेका छन् । यस्तै वैकल्पिक केन्द्रीय समिति सदस्यमा २०२ जना रहेका छन् ।

वरियतामा भने पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछि वरिष्ठ उपाध्यक्ष‍मा नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरुमा कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा, पम्फा भुसाल छन् । महासचिव देवप्रसाद गुरुङपछि उपमहासचिव गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत र मातृका प्रसाद यादव छन् ।

माओवादी केन्द्रले पुरानै कार्यविभाजनलाई ब्युँताएको जनाइएको छ । आठौँ महाधिवेशनपछि पदाधिकारी चयनबाहेक नेताहरुको कार्यविजन गर्न नसकेको माओवादीले महाधिवेशन अघिकै कार्यविभाजनलाई ब्युँताउने निर्णय गरेको स्रोतले बतायो ।