रवि लामिछानेकाे राहदानी सम्बन्धी सरकारी वकिल कार्यालयले मगायो कागजात

काठमाडाैं, २६ माघ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता, राहदानीलगायत कागजात मगाएको छ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि न्यौपानेले आफूहरूले लामिछानेविरूद्ध परेको जाहेरीमाथि छानबिन गर्न आवश्यक कागजात मगाएको बताए।

‘हामीले उहाँका काठमाडौं जिल्ला प्रशासन कार्यालय, राहदानी विभागबाट जारी भएका नागरिकता, राहदानी र अध्यागमन विभागबाट पनि आवश्यक कागजात मगाएका हौं,’ उनले भने, ‘त्यहाँबाट कागजात आएपछि अध्ययन गरेर निर्णय गर्छौं।’

जिल्ला प्रहरी परिसर, काठमाडौंले निवर्तमान गृहमन्त्री रवि लामिछाने विरुद्धको जाहेरी दर्ता लिन अस्वीकार गरेपछि युवराज पौडेल सफलले सरकारी वकिलको कार्यालय, काठमाडौंमा जाहेरी पेश गरेका थिए ।

लामिछानेले १० फागुन २०५० सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सुरुमा नागरिकताको प्रमाणपत्र लिएका थिए । अमेरिका गएपछि उनले २१ फेब्रुअरी २०१४ (तदनुसार ९ फागुन २०७०)मा त्यहाँको नागरिकता प्राप्त गरे । अमेरिकाको नागरिकता पाएपछि ११ मे २०१५ (२८ वैशाख २०७२) मा उनी नेपाल फर्किए र १३ जेठमा नेपाली पासपोर्ट लिएका थिए ।

जिल्ला सरकारी वकिल कार्यालयले उनको जाहेरीमा उल्लेखित विवरणहरू हेरेर निर्णय गरि प्रहरीलाई निर्देशन दिने छ।