लुम्बिनी प्रदेशलाई पराजित गर्दै हक्की प्रतियोगिताको उपाधि आर्मीलाई

धनुषा, २९ माघ । धनुषाको मिथिला नगरपालिका नक्टाझिजमा आयोजित पाँचौँ संस्करणको सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मीले जितेको छ ।

शनिबार सम्पन्न भएकाे फाइनल खेलमा लुम्बिनी प्रदेशलाई २–१ ले पराजित गर्दै आर्मीले चौथोपटक बिजेता बनेकाे हो । आर्मीका लागि खेलको १७औँ मिनेटमा सीतामाया वलले पहिलो गोल गरेकी थिइन् ।

खेलको ५२औँ मिनेटमा आर्मीका सरस्वती तामाङले दोस्रो गोल गरिन् । लुम्बिनीका लागि अनन्या वर्नवालले खेलको सुरुआती गोल गरे पनि अन्य खेलाडीले दोहोरो गोल गर्न सकेनन् ।

प्रतियोगिताका विजेता विभागीय टोली आर्मीले प्रथमको शिल्ड उचाल्दै रु ७५ हजार नगद, मेडलसहित प्रमाणपत्र हात पार्न सफल भएको छ भने उपविजेता लुम्बिनी प्रदेशले रु ४० हजार नगद, मेडलसहित प्रमाणपत्र प्राप्त गरेको स्थानीय प्रतियोगिता संयोजक अरुणकुमार महतोले बताउनुभयो ।

त्यसैगरी तृतीय स्थान हासिल गरेको मधेस प्रदेशलाई समेत रु २५ हजार नगद, मेडलसहित प्रमाणपत्र प्रदान गरिएको छ । यस्तै पाँचाैँ संस्करणको सो प्रतियोगिताको बेस्ट खेलाडीको उपाधि उदियमान खेलाडी मधेस प्रदेशका अञ्जलीकुमारी महतोलाई प्रदान गरिएको छ ।

यस्तै बेस्ट स्कोरर नेपाल आर्मीका कमला चन्द, उत्कृष्ट रक्षक आर्मीकै हिमाली थापा, उत्कृष्ट गोलरक्षक लुम्बिनी प्रदेशका प्रतिमा सरोज र प्लेयर अफ द टुर्नामेन्टको उपाधि लुम्बिनी प्रदेशकै पूजा कुमारीलाई प्रदान गरिएको प्रतियोगिताका निर्णायक बाबुराम नेपालले जानकारी दिनुभयो ।

धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजस्थित हिमालय युवा क्लबको खेलमैदानमा यही माघ २३ गतेदेखि भएको प्रतियोगिता माघ २८ गते समापन भएको थियो ।