यातायात बन्द फिर्ता, मजदूर कुट्ने ल्होत्सेका कर्मचारीलाई कारवाही गर्ने सहमति

 

काठमाडौं, २ फागुन । यातायात मजदूर र व्यवसायीहरूले आज गरेको यातायात बन्द फिर्ता लिएको छ । आज सिंहदरवारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग भएको वार्ता पछि बन्द फिर्ता लिने सहमति भएको हो ।

मन्त्रीसँग भएको वार्तामा यातायात मजदूरलाई कुटपिट गर्ने ल्होत्से बहुउद्देश्यीय प्रा.लि.का कर्मचारीहरूलाई कारवाही गर्ने, नयाँ बसपार्कमा ल्होत्सेले गरेको अनियमिताको छानबिन गर्ने विषयमा सरकार तयार भएपछि यातायात मजदूरहरू आजको बन्द फिर्ता लिन सहमत भएको हो ।

यातायात मजदूरहरूले उठाउँदै आएको १५०० रुपैयाँको ट्राफिक जरिवाना खारेज गरी पहिले जस्तै ५०० कायम गर्न सरकार हिजो नै तयार भइसकेको छ ।

यस क्रममा हिजो बालाजु माछा पोखरी क्षेत्रमा भएको प्रदर्शनमा प्रहरी र यातायात मजदूर भिडन्त हुँदा धेरै धनमालको क्षति भएको थियो । त्यस क्रममा यातायात मजदूरहरूले दुइटा ट्राफिक भ्यानमा आगो लगाएका थिए । आगो लगाउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

त्यसपछि बेलुकी ल्होत्से मल भित्र पसेर तोडफोड गरी तीन वटा मोबाइल पसलमा लुटपाट गरिएको थियो । लुटपाटमा ८ करोड बराबरको मोबाइल लुटिएको बताइएको छ । लुटपाट विरुद्ध मोबाइल व्यवसायीहरूले असन्तोष प्रकट गरेका छन् ।

व्यवसायीहरूले आज गरेको यातायात बन्दका कारण राजधानीको सडक सुनसान देखिएको थियो । सार्वजनिक यातायात नचलेका कारण कार्यालय जानुपर्ने सर्वसाधारणलाई मर्का परेको थियो ।

आज बिहान राजधानीको सडकमा निजी सवारी साधनको घुइँचो लागेको देखिएको थियो ।

यातायात बन्दका केही तस्बिरः दिपेन्द्र श्रेष्ठ