शाहरुख खानकी मैनेजेरको कमाइ कति ?

काठमाडौं, ३ फागुन । भनिन्छ, हरेक सफल व्यक्तिका पछाडि एक महिलाको हात रहेको हुन्छ । भारतका बलिउड बादशाह शाहरुख खानका सन्दर्भमा पनि यो नियम लागू हुन्छ होला । तर उनको सफलताको पछाडि उनकी धर्मपत्नी गौरी खानको हात होइन, उनकी मैनेजर पूजा दाडलानीको हात रहेको बताइन्छ ।

हालै रिलिज भएको नयाँ फिल्म ‘पठान’ को धुवाँधार सफलता पछि शाहरुख खान मात्र होइन, उनकी मैनेजर पूजा दाडलानीको पनि बलिउडमा धुमधाम चर्चा छ ।

पूजाले मुम्बईमा हालै मात्र नयाँ घर बनाएकी रहिछन् । मुम्बईमा घर बनाउनु सानो कुरा होइन । उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेको नयाँ घरको भव्यता देखेर दर्शकहरूले सोध्न थालेका छन्– साँच्चै शाहरुखकी मैनेजर पूजाको कमाइ कति होला ?

पूजाले मुम्बईमा बनाएको नयाँ घरको डिजाइन स्वयम् शाहरुखकै धर्मपत्नी गौरी खानले गरेकी थिइन् ।

नयाँ घरको तस्बिरले तहल्का मच्चाएपछि पूजा दाडलानीको कमाइ पनि चर्चामा आउन थालेको हो । धेरैको खोजीनीति पछि उनको कमाइ सार्वजनिक पनि भएको छ ।

बताइए अनुसार पूजा दाडलानीको वार्षिक कमाइ करिब ९ करोड भारु बराबरको छ । यसलाई महिनाले भाग गर्दा प्रति महिना ७५ लाख भारु हुन आउँछ ।

मुम्बईमा पूजाले ५० करोड बराबरको सम्पत्ति जोडिसकेको बताइन्छ । उनलाई मुम्बईका सबै कलाकारहरू मध्येकै सबैभन्दा प्रतिभावान मैनेजर मानिन्छ ।

४० वर्षीय पूजाले सन् २०१२ देखि शाखरुख खानको मैनेजरका रुपमा काम गर्न थालेकी हुन् । खानलाई सही समयमा सही फिल्म दिलाउने र त्यसको व्यवस्थापन गर्ने काममा पूजाको ठूलो भूमिका रहेको बताइन्छ ।

भारतीय क्रिकेटको आईपीएलमा शाखरुख खानलाई ‘कोलकाता नाइट राइडर’ टीम खरिद गराउनुमा पनि पूजाकै ठूलो हात रहेको थियो ।

स्मरणीय छ, शाहरुख खानको नयाँ फिल्म ‘पठान’ ले अहिले विश्वभरि नै कीर्तिमानी कमाइ गरिरहेको छ । यो फिल्मले अहिले भारत र भारत बाहिर समेत गरी १० अर्ब भारु बराबरको कमाइ गरिसकेको छ । यसले छोटो समयमा यति धेरै कमाइको कीर्तिमान राख्ने अनुमान गरिएको छ ।