लिग-२ अन्तर्गत स्कटल्यान्डमाथि २ विकेटको जित, सिरिज क्लिन स्वीप

काठमाडाैं, ९ फागुन । आइसिसी विश्वकप लिग-२ अन्तर्गत क्रिकेटमा नेपालले स्कटल्याण्डमाथि रोमाञ्चक जित निकालेको छ ।

लिग टू क्रिकेटमा नेपालले स्कटल्याण्डमाथि २ विकेटको यो जितसंगै नेपालले सिरिज क्लिन स्वीप गरेको छ ।

नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले लगातार चौथो जित निकालेको हाे ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा लिग-२ को अन्तिम खेलमा नेपालले स्कटल्यान्डमाथि २ विकेटको जित निकाल्यो। २१३ रनको लक्ष्य नेपालले ८ विकेटको क्षतिमा ३५ बल बाँकी रहँदै पूरा गर्‍यो।

नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले ९५ रन हाने। अर्का खेलाडी करण केसीले ३१ रन हाने।

नेपालका ओपनरद्वय कुशल भुर्तेल १ रन र आसिफ शेख १२ रनमा आउट भए। ज्ञानेन्द्रले ३० बलमा ४ चौका प्रहार गरे।

कुशल मल्लले १७ जोड्दा सन्दीप जोरा १ रन, दीपेन्द्रसिंह ऐरी ७ रन र सोमपाल कामी २ रनमै आउट भए। लगातार विकेट गएपछि नेपाल दबाबमा परेको थियो।

बलिङमा स्कटल्यान्डका मार्क वाटले ३ विकेट लिए। उनले १० ओभरमा १ मेडन राख्दा २९ रन खर्चिए।

त्यसअघि टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ४६.१ ओभरमा २१२ रनमा अलआउट भयो।

स्कटल्यान्डका लागि ओपनिङ ब्याट्सम्यान जर्ज मन्जीले ६० रन जोडे। अर्का ओपनर केल कोइटजर २२ रनमा आउट भए।

कप्तान रिची बेरिङटन शून्य र टोमस म्याकिनटोस १ रनमा आउट भए। चारै जनालाई सन्दीप लामिछानेले आउट गरेका थिए।

लिग-२ का शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन्। बाँकी चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ।

लिग-२ बाट स्कटल्यान्ड र ओमान विश्वकप छनोटमा पुगिसकेका छन्। अब बाँकी एक स्थानका लागि नामिबिया, नेपाल र युएईबीच प्रतिस्पर्धा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *