नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्य क्रमिक रूपमा सुधार

काठमाडाैं, १० फागुन । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्य क्रमिक रूपमा सुधार हुँदै गएकाे छ ।

खाना पकाउने ग्यास लिक भई भएको आगलागीबाट गम्भीर घाइते भएका भण्डारीको स्वास्थ्यमा क्रमिक रूपमा सुधार आएको चिकित्सकले जनाएका छन् ।

चिकित्सकका अनुसार भण्डारीलाई बुधबारदेखि कृत्रिम अक्सिजन दिन बन्द गरिनेछ। सांसद भण्डारीको फागुन ४ गतेदेखि भारत मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार जारी छ।

नेशनल बर्न सेन्टरका डा सुनिल केशवानीका अनुसार भण्डारीलाई ‘इटी ट्युब’मा अब राख्न नपर्ने र इन्फेक्सनको मात्रा पनि कम हुँदै गएको छ।

सांसद भण्डारीको अनुहारमा नयाँ छाला पलाएको तर हातहरूमा अलिअलिमात्र पलाएकाले एक हप्ता अझै हेर्ने, अनि मात्र आवश्यक भएमा हातको ग्राफ्टिङ गर्ने चिकित्सकले जनाएकाे छ ।

यही फागुन ३ गते राति आफ्नो निवास बुद्धनगरमा ग्यास लिक भई आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए।

दुवै जनाको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो। आमा हरिकलाको भने उपचारका क्रममा फागुन ४ गते निधन भएको थियो।