किन दिए डिआइजी अशोक सिंहले राजीनामा ?

काठमाडाैं, १० फागुन । डिआइजी अशोक सिंहले राजीनामा दिएका छन् । उनले उमेर विवादमा परेसंगै राजीनामा दिएका हुन् ।

सिंहले बुधबार प्रहरी प्रधान कार्यालयमा राजीनामा पत्र बुझाएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएकाे छ ।

सिंह २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भएका थिए। उनीविरूद्ध जन्ममितिबारे अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो। उनले उमेर सच्याएर प्रहरीमा भर्ना लिएको भन्दै अख्तियारमा उजुरी परेको हो।

सिंहकाे २०४२ साल जेठ २२ गते लिएकाे नागरिकता प्रमाण पत्रमा उनको उमेर १८ वर्ष छ। तर उनको शैक्षिक प्रमाण पत्रमा जन्म मिति १६ पुस २०२५ उल्लेख छ।

प्रहरीको नियमावलीअनुसार सेवामा प्रवेश गर्दा पेश गरेको नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र र वैयक्तिक विवरण (सिटरोल)मा जन्ममिति वर्ष, महिना र गते समेत खुलेको र सबैमा एउटै मिति नरहेको भएमा छिटो अवकाश हुने मिति नै कायम रहने उल्लेख छ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वा प्रहरी उपरीक्षक (एसपी)को उमेरहद ५५ वर्ष छ। तर गत असारमा डिआइजीमा बढुवा हुँदा नै उनी ५५ वर्ष पुगिसकेका थिए। उनी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख थिए।