वैशाखभित्रै बागलुङ बजारमा लिफ्टिङ खानेपानी

बागलुङ, ११ फागुन । बागलुङ नगर सहलगानी खानेपानी तथा सरसफाइ परियोजनाले आगामी वैशाखभित्र यहाँका बजारमा शुद्ध खानेपानी पुर्याउने भएको छ ।

परियोजनाको बागलुङ नगरपालिका–३ मा रहेको पानी प्रशोधन केन्द्रले काठेखोला किनारदेखि कैलामपोखरीसम्म पानी पुर्याउने भएको हो ।

लामो समयदेखि अलपत्र आयोजनाको कामले पछिल्लो समय गति लिएको छ । “हामीले आयोजनाको ९० प्रतिशत काम गरिसकेका छौँ, केही प्राविधिक र संरचना निर्माणका काम बाँकी छन्, सबै काम सञ्चालन रहेकाले अब ढिला हुँदैन”, आयोजना निर्माण कम्पनी कन्काइ जयमाता जेभीका इञ्जिनीयर विक्रम अधिकारीले भन्नुभयो ।

उहाँका अनुसार खोला किनारको पानी तानेर प्रशोधन केन्द्रसम्म ल्याउने काम सकिएकाले अबको एक महिनाभित्र पानी वितरण ट्याङ्कीमा पुर्याउने लक्ष्य छ ।

प्रशोधन ट्याङ्कीमा खोलाबाट पानी पुगेकाले धेरै सकिएको नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका प्रबन्धक हिमाल शर्माले बताउँदै पानी नियमित वितरण हुन थालेपछि सुक्खा याममा पानीको अभाव नहुने बताउनुभयाे ।

यसअघि निर्माण व्यवसायीले पुस मसान्तसम्म खानेपानी आयोजना सम्पन्न गर्ने लक्ष्य लिए पनि अझै आयोजना सम्पन्न हुन सकेको छैन । दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी विसं २०७५ असार ३१ मा कन्काइ जयमाता जेबीले निर्माणको जिम्मा लिएको थियो । निर्माण कम्पनीको ढिलासुस्तीले तीनपटक म्याद थपेर योजना निर्माण सम्पन्नको चरणमा पुगेको हो ।

रू ३२ करोड २५ लाखको लागतमा निर्माण थालिएको उक्त आयोजना कोरोना महामारी, आयोजना निर्माणस्थलको भौगोलिक बनावट कमजोर भएका कारण निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीले जनाएको छ ।

पानी लिफ्टिङ गर्न मोटर सञ्चालनका लागि ६३० केभिएको ट्रान्सफर्मर जडान भइसकेको छ । पानी जम्मा गर्नका लागि पाँच व्यवस्थित इनार तयार भएका छन् । पानी प्रशोधनका लागि नौ र वितरणका लागि दुई वटा ट्याङ्की तयार गरिएको इञ्जिनीयर अधिकारीले जानकारी दिनुभयो ।