राष्ट्रपति निर्वाचनमा समाजवादी र जसपाले अडान नछाडेपछि प्रचण्ड गल्दै, एमालेसँग छलफल गर्ने

काठमाडौं, ११ फागुन । राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने दिन नजिक–नजिक आउँदै गर्दा राष्ट्रपति को बन्ने भन्ने मुद्धा पेचिलो बन्दै आएको छ । पछिल्लो समय माओवादीका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री प्रचण्ड नेपाली कांग्रेससँग बढी नजिक हुन थालेपछि केही तरल बनेको राजनीतिमा आज साँझसम्म आइपुग्दा पनि दलहरु कस्लाई राष्ट्रपतिको उम्मेदवारमा अघि बढाउने भन्ने निष्कर्शमा पुग्न सकेका छैनन् ।
पुस १० गते भएको सहमति अनुसार नेकपा माओवादीले प्रधानमन्त्री प्राप्त गरेपछि राष्ट्रपतिमा एमालेलाई सघाउने सहमति भएको थियो । तर, पछिल्लो समय प्रचण्डले कांग्रेसलाई सहयोग गर्ने बचनबद्धता व्यक्त गरेपछि थप अन्योल सिर्जना भएको थियो ।
एमालेले पनि माओवादीको अपरिपक्क राजनीतिबाट दिक्क भएपछि विकल्पका रुपमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिका रुपमा अघि बढाएको छ । एमाले समेत नेपाललाई राष्ट्रपति बनाउन सकारात्मक भएपछि समाजवादी अहिले नेपाललाई राष्ट्रपति बनाउने गरी छलफलमा केन्द्रित भएको छ । पछिल्लो समय राष्ट्रपति चुनावका विषयमा छलफल गर्न दलहरु बाक्लो छलफलमा जुटेका छन् ।
आज यहि विषयलाई लिएर नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबिच पनि छलफल भयो । तर, छलफल निष्कर्षबिहीन बनेको छ । बैठकमा तीनै दलका नेताहरुले आ–आफ्नो अडान प्रस्तुत गरेका थिए । बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ नेकपा एसका नेता प्रकाश ज्वालाले राष्ट्रिय सहमतिका आधारमा माधव नेपाललाई राष्ट्रपति बनाउन आफ्नो पार्टीले प्रस्ताव राखेको जानकारी दिनुभयो ।
उहाँले राष्ट्रिय सहमतिको उम्मेदवारका रुपमा आफ्नो पार्टीका अध्यक्षलाई प्रस्तावित गरेको जानकारी दिनुभयो । उहाँले तीन पार्टीहरुबीच चुनावअघि तयारी गरिएजस्तै वाम समाजवादी मोर्चा बनाएर जाने विषयमा पनि छलफल भएको पनि जानकारी दिनुभयो ।
यता जनता समाजवादी पार्टीले उपराष्ट्रपति आफ्नो वटमलाई भएको बताउँदै आएको छ । उक्त पार्टीका अध्यक्ष उपेन्द्र यादवले उपराष्ट्रपति नदिने हो भने कांग्रेससहित बन्ने गठबन्धनलाई सहयोग गर्न नसक्ने बताउँदै आउनु भएको छ । यदवले राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख नपाएको भन्दै एक पद मधेसी हुनुपर्ने भन्दै उपराष्ट्रपतिमा अडान राख्दै आउनु भएको छ ।
पछिल्लो सयम एमालेसँग टाँढा बन्न खोजिरहनु भएका प्रधानमन्त्री प्रचण्डले तीन दलसँगको छलफलपछि सञ्चारकर्मीहरु कुराकानी गर्दै भोलि एमालेसँग छलफल गर्ने बताउनु भएको छ । आज दिनभरीको छलफलपछि समाजवादी र जसपा दुबै दलले सजिलै समर्थन गर्ने अवस्था नदेखेपछि प्रचण्ड समेत केही गलेको आंकल समेत गर्न थालिएको छ । त्यसो त समाजवादीका नेताहरुले समेत एमालेसँगको भेटलाई तिव्रता दिएका छन् ।