दसैँ मनाएर उपत्यका फर्किने बढे, प्रमुख नाकामा सवारी चाप
काठमाडौँ, ६ कात्तिक । दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू फर्किन थालेसँगै उपत्यका भित्रिने प्रमुख नाकामा सवारीसाधनको चाप बढ्न थालेको छ। टीका तथा आशीर्वाद ग्रहण गरेर घरबाट फर्किने यात्रुको सङ्ख्या बढेपछि विभिन्न सडकखण्डमा आवागमन व्यवस्थापन चुनौतीपूर्ण बनेको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुङ्गा–कलङ्की, जडीबुटी–कोटेश्वर, तीनपिप्ले, भक्तपुरको जगाती, भट्टेडाँडा तथा दक्षिणकाली–फर्पिङलगायत सडकखण्डमा सवारीसाधनको चाप बढेको छ।
कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले यात्रुको आवागमन सहज बनाउन र सवारी चाप व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई सक्रिय रूपमा परिचालन गरिएको बताउनुभयो।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले उपत्यका फर्किने यात्रुको चाप दिनहुँ बढ्न थालेपछि आवागमन सहज बनाउने, सवारी चाप व्यवस्थापन गर्ने तथा सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडकमा निगरानी बढाइएको जानकारी दिनुभयो।
उपत्यकाका प्रमुख नाकामा दैनिक निजी कार, जिप, मोटरसाइकल तथा साना–ठूला सार्वजनिक सवारीसाधन गरी करिब एक हजार सवारीसाधन आवतजावत गर्ने गरेका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार यस वर्ष दसैँ मनाउन घटस्थापनादेखि कात्तिक ३ गतेसम्म ७९ हजार ६७६ वटा सवारीसाधनमार्फत पाँच लाख ७६ हजार ५७८ जना उपत्यकाबाट बाहिरिएका थिए।
