भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
भक्तपुर, ६ कात्तिक । ‘जनता म्वाःसा भाषा म्वाई’ अर्थात् ‘जनता बाँचे भाषा बाँच्छ’ भन्ने मूल नाराका साथ भक्तपुरमा शुक्रबारदेखि दुईदिने ४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सुरु भएको छ। भक्तपुर नगरपालिका–७ गोमारीको यातामा आयोजित सम्मेलनले नेपालभाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा जोड दिएको छ।
सांस्कृतिक गुरु एवं ज्येष्ठ नागरिक मोतीबहादुर खायमलीले सम्मेलनको उद्घाटन गर्नुभएको थियो। बिहान ११ बजेदेखि सुरु भएको सम्मेलन राति ११ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। दुई दिनसम्म चल्ने सम्मेलनमा साहित्यिक वाचन, विचार विमर्श, सम्मान तथा विभिन्न सांस्कृतिक प्रस्तुति समेटिएका छन्।
उद्घाटन समारोहमा आयोजक समितिका अध्यक्ष उकेश कवांले स्वागत मन्तव्य राख्नुभएकाे थियो भने पहिलो दिनको सभापतित्व डा. इभा कंसाकारले गर्नुभएको थियो। जनकवि चन्द्रबहादुर उलले लेख्नुभएको, राजेश हाडाले सङ्गीतबद्ध गर्नुभएको तथा रवि हाडा, लक्ष्मण पलिखेल र साथीहरूले स्वर दिनुभएको स्वागतगीत र नृत्यबाट कार्यक्रम सुरु भएको थियो।
सम्मेलनको पहिलो चरणमा नेपालभाषाका कविता, कथा, निबन्धलगायत साहित्यिक रचना वाचन गरिनुका साथै विभिन्न क्षेत्रका विज्ञहरूले समसामयिक विषयमा मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, पार्टीका केन्द्रीय सदस्य नन्दबहादुर शाही, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, जलस्रोत अध्येता रतन भण्डारी, डा. धनरत्न शाक्य, डा. सरोज धिताल, डा. तारालाल श्रेष्ठ, हरिहर तिमल्सिना, अभय श्रेष्ठ र कृष्णकुमार वैद्यलगायतले आआफ्ना विषयमा धारणा राख्नुभएको थियो।
सम्मेलनमा प्रतियोगितात्मक तथा अतिथि साहित्य वाचन गरिएको थियो। साहित्यिक कार्यक्रमका बीचमा गीतसङ्गीत प्रस्तुत गरिएको थियो भने साँझदेखि रातिसम्म प्रतियोगितात्मक नाटक, ख्याल, नृत्य, गीतिनाटक र गीतलगायत सांस्कृतिक प्रस्तुति देखाइएको थियो। आयोजकका अनुसार समसामयिक राजनीतिक तथा सामाजिक विषय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रम र प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकका समस्यालाई पनि साहित्य तथा सांस्कृतिक प्रस्तुतिमार्फत अभिव्यक्त गरिएको थियाे।
कार्यक्रममा तःमुंज्याको मुखपत्र ‘तःमुंज्या ख्वपौं’ विमोचन गरिएको थियो। प्रमुख अतिथि नारायणमान बिजुक्छेँले मुखपत्र विमोचन गर्नुभएको थियो भने उहाँद्वारा लिखित ‘नयाँ पुस्ता’ पुस्तक वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले विमोचन गर्नुभएको थियो। त्यसैगरी, तःमुंज्या स्मारिका पनि सार्वजनिक गरिएको थियो।
सम्मेलनमा युवा कवि दामोदर सुवाल, वरिष्ठ नर्स दयालक्ष्मी जोशी (वैद्य) र सन् २०२५ को मदन पुरस्कार प्राप्त कृति ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ की लेखिका विणा जोशीलाई सम्मान गरिएको थियो।
नेपाल संवत् ११०० अर्थात् विसं २०३७ देखि निरन्तर आयोजना हुँदै आएको तःमुंज्याले नेपालभाषा, साहित्य, कला, संस्कृति तथा सम्पदाको संरक्षण र संवर्द्धनमा योगदान पुर्याउँदै आएको छ। चार दशकभन्दा लामो इतिहास बोकेको यस सम्मेलनले साहित्यिक गतिविधिमार्फत सामाजिक तथा सांस्कृतिक चेतना अभिवृद्धि गर्नुका साथै नयाँ पुस्तालाई नेपालभाषामा लेख्न, सिर्जना गर्न र आफ्नो प्रतिभा सार्वजनिक रूपमा प्रस्तुत गर्न प्रोत्साहित गर्दै आएको छ।
हरेक वर्ष भक्तपुरका फरक–फरक वडा तथा टोलमा आयोजना हुने तःमुंज्यामा नेपालभाषाका अतिरिक्त अन्य भाषाका साहित्यिक तथा सांस्कृतिक प्रस्तुतिलाई समेत स्थान दिने गरिन्छ प्रतियोगितात्मक साहित्य वाचनमार्फत नयाँ पुस्ताका लेखक, कवि तथा कलाकारलाई प्रोत्साहन गर्नु सम्मेलनको उद्देश्य रहेको आयोजक समितिका अध्यक्ष कवांले बताउनुभयो।
