एक सातापछि खुल्यो बेनी–दरवाङ सडक, पहिरोले रोकिएको यातायात सञ्चालन

म्याग्दी, ६ कात्तिक । म्याग्दीको पश्चिमी भेगका तीन स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडक एक सातापछि सञ्चालनमा आएको छ। बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानास्थित फापरखेतमा खसेको पहिरो पन्छाएपछि शुक्रबारदेखि यातायात सञ्चालनमा आएको हो।

गत असोज ३१ गतेदेखि सुक्खा पहिरो खस्न थालेपछि सडक अवरुद्ध भएको थियो। पूर्वाधार विकास कार्यालय म्याग्दीले मेसिन प्रयोग गरी पहिरो पन्छाएपछि तत्कालका लागि सडक खुलाइएको हो।

पहिरो पन्छाउने जिम्मा लिएको मङ्गला कन्स्ट्रक्सनका प्रतिनिधि राजु पाण्डेले दसैँमा यात्रुको चापलाई ध्यानमा राखेर सडक खुलाउने प्रयास गरिए पनि पहिरो खस्ने क्रम नरोकिएकाले समय लागेको बताउनुभयो।

“दसैँको समयमा आवतजावत गर्ने यात्रुको चापलाई दृष्टिगत गरी तत्काललाई सडक खुलाए पनि दिगो समाधानका लागि अझै काम गर्न बाँकी छ,” उहाँले भन्नुभयो, “दसैँको चहलपहल सकिएपछि पहिरोसँग सम्बन्धित बाँकी काम गरी भरपर्दो एवं जोखिमरहित सडक निर्माण गर्ने योजना छ।”

कुल २४ किलोमिटर लामो बेनी–दरवाङ सडक म्याग्दीको पश्चिमी क्षेत्रका मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने महत्त्वपूर्ण मार्ग हो। यसलाई पश्चिम म्याग्दीको ‘लाइफलाइन’का रूपमा लिइन्छ।

लगातारको पहिरोका कारण सडक बन्द हुँदा दसैँ मनाउन जन्मथलो जाने र पर्वपछि कार्यक्षेत्र फर्कने यात्रुलाई समस्या परेको थियो। तत्कालका लागि सडक सञ्चालनमा आए पनि पहिरोको दीर्घकालीन व्यवस्थापन तथा सडकलाई जोखिमरहित बनाउने काम भने बाँकी रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *