जलवायु परिवर्तनले हिउँचितुवाको बासस्थान सङ्कुचित हुँदै
हिमाली पारिस्थितिकीय प्रणाली
काठमाडौँ, कात्तिक ६ । जलवायु परिवर्तनका कारण उच्च हिमाली क्षेत्रमा पाइने दुर्लभ वन्यजन्तु हिउँ चितुवाको बासस्थानमा ह्रास आउनुका साथै आहारा अभावको चुनौती थपिँदै गएको छ। हिमाली पारिस्थितिकीय प्रणालीको महत्त्वपूर्ण सूचक मानिने हिउँचितुवाको जीवनचक्र र दैनिक गतिविधिसमेत जलवायु परिवर्तनबाट प्रभावित हुन थालेका छन् ।
दुर्लभ हिउँचितुवाको संरक्षणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्ष अक्टोबर २३ मा विश्व हिउँचितुवा दिवस मनाइन्छ। यस वर्ष ‘उच्च हिमाली पारिस्थितिकीय प्रणालीको संरक्षक, हिउँचितुवाको संरक्षण’ नाराका साथ दिवस मनाइएको छ।
नेपालसहित विश्वका १२ देशमा पाइने हिउँचितुवा स्वच्छ हिमाली पर्यावरणको सूचक मानिन्छ। नेपाल, अफगानिस्तान, भुटान, चीन, काजकिस्तान, किर्गिस्तान, भारत, मङ्गोलिया, रुस, पाकिस्तान, ताजिकिस्तान र उज्बेकिस्तानमा यसको बासस्थान रहेको छ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा हिउँचितुवाको सङ्ख्या ३९७ रहेको छ। विश्वमा रहेका हिउँचितुवामध्ये १० प्रतिशत नेपालमा पाइने अनुमान छ भने विश्वको कुल हिउँचितुवा बासस्थानको करिब दुई प्रतिशत क्षेत्र नेपालमा पर्छ। नेपालका उच्च हिमाली क्षेत्रमा ३० हजार ५०० वर्ग किलोमिटर क्षेत्रफलमा हिउँचितुवाको बासस्थान रहेको छ। विश्वभर हाल चार हजारदेखि सात हजारसम्म हिउँचितुवा रहेको अनुमान गरिएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यले जलवायु परिवर्तनको असर उच्च हिमाली क्षेत्रमा पर्दा हिउँचितुवाको जीवनचक्र र दैनिक गतिविधि प्रभावित हुनु स्वाभाविक भएको बताउनुभयो। उहाँका अनुसार बासस्थानमा आएको ह्रासका कारण हिउँचितुवाको आहारा प्रजातिको सङ्ख्या घट्दा खानाको अभावसमेत देखिन थालेको छ ।
अन्तरराष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन) को रातो सूचीमा सूचीकृत हिउँचितुवालाई ‘हिमालकी रानी’ समेत भनिन्छ । लजालु स्वभावका कारण यसलाई प्राकृतिक बासस्थानमा प्रत्यक्ष देख्न कठिन हुन्छ। ठूला बिराला प्रजातिमध्ये सबैभन्दा कम अध्ययन गरिएका वन्यजन्तुमध्ये हिउँचितुवा पनि एक हो ।
हिउँचितुवा संरक्षणलाई प्राथमिकतामा राख्दै मन्त्रालयले ‘हिउँचितुवा संरक्षण तथा कार्ययोजना (२०२४-२०३०)’ तयार गरी कार्यान्वयनमा ल्याएको छ। सामान्यतया समुद्री सतहबाट ५४० देखि पाँच हजार मिटर उचाइसम्म पाइने हिउँचितुवाको सङ्ख्या पूर्वी नेपालको तुलनामा पश्चिम नेपालमा बढी रहेको तथ्याङ्कले देखाएको छ। जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण, बासस्थान संरक्षण र आहारा प्रजातिको संरक्षण हिउँचितुवाको दीर्घकालीन अस्तित्वका लागि महत्त्वपूर्ण मानिएका छन् ।
