राष्ट्रपति पदको निर्वाचनका लागि नेम्वाङको उम्मेदवारी र एमालेले दिन खोजेको सन्देश

काठमाडौं, १३ फागुन । यही फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि नेकपा (एमाले) को तर्फबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दिनुभएको छ ।
अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल लगायतका नेताहरूसहित सङ्घीय संसद भवन, नयाँ बानेश्वर जानुभई उपाध्यक्ष नेम्वाङले उम्मेदवारी दिनुभएको थियो ।

उहाँको प्रस्तावकमा अध्यक्ष ओली, नेताहरू पृथ्वी सुब्बा गुरूङ, गोकर्णराज विष्ट, रघुवीर महासेठ र छविलाल विश्वकर्मा हुनुहुन्छ भने समर्थकमा योगेशकुमार भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो, दिलकुमारी रावल थापा र अमनकुमार मास्के हुनुहुन्छ ।

संविधान सभाका अध्यक्ष नेम्वाङ इलाम निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद हुनुहुन्छ । पार्टीको आज विहान बसेको सचिवालयको बैठकले उपाध्यक्ष नेम्वाङलाई राष्ट्रपति निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

वर्तमान सरकार गठन गर्दा २०७९ पुस १० गते सत्ता साझेदार दलहरूबीचको सहमति अनुसार नेकपा (एमाले) ले राष्ट्रपति पदमा उम्मेदवारी दिने निर्णय गरेको हो । राष्ट्रपतिको निर्वाचन कार्यतालिका अनुसार आज २०७९ फागुन १३ गते उम्मेदवारी दर्ता गराउनुपर्ने थियो ।

एमालेले नेम्वाङलाई राष्ट्रपति निर्वाचनमा उम्मेदवार बनाएसँगै उहाँलाई विजयी बनाउन अन्य दलहरुसँग आग्रह गर्दै पत्राचार समेत गरेको छ । यहि सिलसिलामा एमालेले राष्ट्रपति निर्वाचनमा सहयोग माग्दै एकीकृत समाजवादीलाई पत्र पठाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एसका अध्यक्ष माधव नेपाललाई आफ्नो पार्टीको तर्फबाट उम्मेदवार भएका सुवास नेम्वाङको पक्षमा मतदान गर्न आग्रह गर्दै पत्र पठाउनु भएको हो ।

आम निर्वाचनको नयाँ जनादेशअनुरूप पुस १० गते सरकार गठनका सन्दर्भमा भएको सहमति अनुसार फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा आफ्नो पार्टीले उम्मेदवारी दर्ता गरेको उल्लेख गर्दै उहाँले लेखेको पत्रमा भनिएको छ, ‘नेपालको संविधानको मर्म र भावनाअनुरूप माननीय सुवासचन्द्र नेम्वाङ राष्ट्रपति पदलाई अत्यन्त योग्य एवं उपयुक्त उम्मेदवार हुनुहुन्छ।

राष्ट्रिय सभा, प्रतिनिधि सभा र प्रदेश सभाका माननीय सदस्यहरू मतदाता हुने यस निर्वाचनमा तपाईंको पार्टीका तर्फबाट मा. सुवासचन्द्र नेम्वाङको पक्षमा मतदानका लागि पूर्ण सहयोग प्राप्त हुने विश्वासका साथ हार्दिक अनुरोध गर्दछु ।’

पुस १० गते एमाले नेतृत्वमा बनेको ७ दलीय गठबन्धन भत्काएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावअघिकै गठबन्धन ब्यूँताएपछि एमालेले सकेसम्म बामपन्थीहरु एक भएर अघि बढ्ने योजना अनुरुप यो तयारी गरेको बुझिएको छ ।

एमालेले कांग्रेस बाहेकका अन्य दललाई नेम्वाङलाई मत हाल्न आग्रह गर्ने रणनीति बनाएको छ । त्योसँगै एमालेले पहिलो राष्ट्रपति मधेसी, दोस्रो महिला र खस आर्य भैसकेको अवस्थमा तेस्रो राष्ट्रपतिमा जनजाति अघि सारेर समावेशीको सन्देश समेत दिने प्रयास गरेको छ ।