स्वयम्भूमा सिँढी निर्माणको ११० वर्ष

काठमाडौं, १६ फागुन । विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भू महाचैत्यसम्म पुग्ने लामो सिँढी निर्माण सम्पन्न भएको ११० वर्ष पुगेको छ । सिँढी निर्माण ११० वर्ष पुगेको उपलक्ष्यमा सिँढी निर्माण गर्नुभएका स्वर्गीय सुब्बा तीर्थराज मानन्धरका परिवारले गत शनिवार स्वयम्भू परिसरमा एक विशेष धार्मिक पूजा आयोजना गर्यो ।
तत्कालीन समयमा विदेशबाट सामान आयात निर्यातको व्यवसाय गर्ने व्यवसायी सुब्बा तीर्थराज मानन्धरले आफ्नो बुबाको स्मरणमा वि.सं. १९६८ सालमा स्वयम्भू महाचैत्यसम्म पुग्ने ढुंगाको सिँढी निर्माण गराउनुभएको थियो ।
सिँढी बन्नुभन्दा अघि स्वयम्भू महाचैत्यसम्म पुग्न पहाड नै चढेर जानु पर्दथ्यो । वर्षायाममा पानी परेर पहाड चिप्लिने भएकोले कतिपय भक्तजनहरू लड्ने पनि गर्दथ्यो । बेला बेला पहिरो गएर महाचैत्यसम्म जान गाह्रो पनि हुने गर्दथ्यो ।
भक्तजनहरूको त्यो समस्यालाई बुझेर तीर्थराज सुब्बाले आफ्नै खर्चले त्यहाँ सिँढी निर्माण गर्नुभएको थियो । सिँढी निर्माण पछि स्वयम्भू महाचैत्यसम्म पुग्न सर्वसाधारणलाई सजिलो भएको थियो ।
सिँढी निर्माण पश्चात सिँढी सकिने बित्तिकै ठूलो वज्रको मुनि उहाँले बुबा ‘न्हुछेमान’ र आफ्नो नाम ‘तीर्थराज’ कुँदिएर ढुंगा पनि राख्नुभएको थियो ।
तर अनौठो के भइदियो भने सिँढी निर्माण पश्चात राज्यबाट सम्मान पाउनु पर्ने ठाउँमा उल्टो सुब्बा तीर्थराज केही समय जेलमा बस्नु परेको थियो । उहाँले सिँढी निर्माण सम्पन्न गर्नुभएपछि त्यसको पूण्य आफूले प्राप्त गर्ने उद्देश्यले तत्कालीन प्रधानमन्त्री चन्द्र शम्शेरले उहाँलाई यसमा कति खर्च लागेको हो त्यो सबै खर्च आफूले तिरिदिन्छु भन्ने प्रस्ताव पठाएका रहेछन् ।
तर सुब्बा तीर्थराजले पनि राज्यबाट पैसा लिए भने यसबाट प्राप्त हुने पूण्यबाट आफू बञ्चित होला भनी निर्माण सम्बन्धी खर्च नै बताउनु भएन । यसबाट क्रुद्ध बनेका प्रधानमन्त्री चन्द्र शम्शेरले दरवारको प्रस्ताव अस्वीकार गरेको भन्ने आरोप लगाई सुब्बा तीर्थराजलाई पक्रेर जेल हालेका थिए । तथापि केही समय पछि उहाँ छुट्नुभयो ।
तीर्थराज मानन्धरले चन्द्र शम्शेरकै दरवारमा १२ वर्षसम्म सुब्बा भएर काम गर्नुभएको थियो । उहाँ भारतको कलकत्ताबाट बेलायती र जापानी सामानहरू नेपाल आयात गरी बिक्री वितरण गर्ने व्यवसाय चलाउनु हुन्थ्यो । नेपालमा पहिलो पटक फोटोग्राफीको सामान झिकाउने श्रय नै उहाँलाई दिइन्छ ।
सिंहदरवार निर्माण गर्दा त्यसको लागि चाहिने सामान जति कलकत्ताबाट झिकाएर उहाँले नै आपूर्ति गर्नुभएको थियो ।
दरवारको जागिरबाट राजीनामा गरिसके पछि उहाँले स्वयम्भूमा ढुंगाको सिँढी निर्माण शुरु गर्नुभएको थियो ।
गएको वि.सं २०६८ सालमा उक्त सिँढी निर्माण भएको सय वर्ष पुगेको उपलक्ष्यमा उहाँका परिवारजनले स्वयम्भूमा भव्य समारोह आयोजना गरेको थियो । उक्त वर्ष स्वयम्भू महाचैत्यमा सिँढी निर्माणको शतवार्षिकीको उपलक्ष्यमा नेपाल सरकारको हुलाक विभागले विशेष हुलाक खाम पनि प्रकाशन गरेको थियो ।
गत शनिवार सिँढी निर्माण ११० वर्ष पुगेको उपलक्ष्यमा स्वयम्भू महाचैत्यमा तीर्थराज मानन्धरका परिवारबाट सप्तविधानुत्तर पूजा आयोजना गरी प्रसाद वितरण गरिएको थियो ।