राष्ट्रपति भण्डारीको कार्यकाल सफल कार्यकाल हाे : अध्यक्ष ओली
काठमाडाैं, २४ फागुन । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सफल कार्यकाल भएकाे बताउनुभएकाे छ ।
नेपालको प्रथम महिला राष्ट्रपति भएर सफल, सही, उत्कृष्ट र मर्यादित भूमिकामा रहेकाे हुनाले दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएको उल्लेख गर्दै अध्यक्ष ओलीले दुवै कार्यकाल सफल कार्यकाल भएकाे बताउनुभएकाे हाे ।
११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर बुधबार च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्नुहुँदै उहाँले भोजपुरको गाउँमा जन्मिएर नेपालको प्रथम महिला राष्ट्रपति हुनु सामान्य विषय नभएको पनि बताउनुभयाे ।
‘आज महिला दिदीबहिनीहरूले गौरव गर्नुपर्छ कि विद्या भण्डारीजस्तो तपाईंहरूको आन्दोलनबाट हुर्किएर गएको महिला नेतृले देशलाई ७ वर्षसम्म राष्ट्रप्रमुखको हैसियतमा सेवा गर्नुभयो,’ ओलीले भन्नुभयाे ,‘अघिल्लो कार्यकालको उहाँको सफल, सही र उत्कृष्ट मर्यादित भूमिकालाई हेरेर दोस्रो पटक फेरि राष्ट्रपति बनाइएको हो।’