सभामुख हुँदा दार्चुलाबाट भारतीय सेना हटाउन नमान्ने पौडेल २४ वर्षपछि राष्ट्रपति

काठमाडौं, २६ फागुन । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले फागुन २२ गते एमाले मुख्यालयमा राष्ट्रपतिको निर्वाचनको लागि नेकपा (एमाले) का प्रतिनिधिसभा, राष्ट्रियसभा तथा प्रदेशसभा सांसदहरूलाई प्रशिक्षण दिदैँ रामचन्द्र पौडेललाई संसदीय प्रणालीमा बेठीक अभ्यासको सुरुवात गर्ने व्यक्ति भएको भनी आलोचना गर्नुभएको थियो । ओलीले त्यसरी आलोचना गर्नुभएका उनै पौडेल मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ ।

२०५५ सालमा पौडेल सभामुख हुनुहुन्थ्यो । त्यतिबेला संसदमा बोल्ने क्रममा ओलीले कालापानी क्षेत्रमा भारतीय सेना छ । उक्त विषयमा छलफल गरौँ भनेर प्रस्ताव राख्दा पौडेलले नमानेको दृष्टान्त त्यहाँ उल्लेख गर्नुभएको थियो । ‘नेपालको दार्चुला जिल्लाको भू–भागमा भारतीय सेना छ । यो विषयमा संसदमा छलफल गरौँ भनेर मैले प्रस्ताव राखेको थिएँ,’ ओलीले कार्यक्रममा सम्वोधन गर्दै भन्नुभएको थियो, ‘उहाँले यो छलफलको विषय नै होइन भनेर सभामुखको अधिकार प्रयोग गरेर सांसदहरुको अधिकार खोस्नु भएको थियो ।’

त्यतिबेला पौडेलले बहुमतको अहंकार देखाएर राष्ट्रियताको त्यस्तो गम्भीर विषयको प्रस्तावमा छलफल हुन नदिएर पदको दुरुपयोग गरेको इतिहास साक्षी रहेको ओलीले स्मरण गराउनुभएको थियो । ‘त्यति मात्रै होइन, ०५४ सालमा एमालेका सांसदहरुलाई बोलाइबोलाई सही गर्न लगाएर एमाले फुटाउन महत्वपूर्ण भूमिका खेलेको पनि पौडेलमाथि उहाँको आरोप थियो । ‘संसदीय बेठीक अभ्यासको सुरुवात गर्ने उहाँ नै हो ।

केही पनि पालना गर्नु नपर्ने जे पनि कुल्चिन मिल्ने व्यक्ति हो । व्यक्तिगत रुपमा उहाँ मेरो साथी हो । तर, सभामुखको रुपमा काम नलाग्ने मान्छे हो । राष्ट्रपतिमा त झन काम नलाग्ने मान्छे हो ।’

 

ओलीले त्यसो भनेको तीन दिन पछि अर्थात् फागुन २५ मा उहाँ राष्ट्रपति निर्वाचित हुनुभयो । अझ गज्जब त के भने त्यतिबेलाका एमाले महासचिव माधवकुमार नेपालले समेत पौडेललाई मतदान गरेर राष्ट्रपतिको कुर्सीमा विराजमान हुने अवसर दिनुभएको छ । त्यतिबेला पौडेलले राष्ट्रियता विरोधी काम गरेको भन्दै एमाले संसदीय दल विभाग प्रमुखको हैसियतमा ओलीले विज्ञप्ति नै निकाल्नु भएको थियो ।

२०५५ साउन २५ गते निकालेको सो विज्ञप्तिमा राष्ट्रियताको सुरक्षासम्बन्धि त्यस्तो महत्वपूर्ण विषयमा नेपाली कांग्रेस र मालेको साँठगााठमा सभामुख पौडेलले संसदमा छलफल नगराएर राष्ट्रियता विरोधी काम गरेको भन्दै भत्र्सना गरिएको थियो । ‘कालापानीबाट भारतीय फौज हटाउन हामीले प्रतिनिधिसभामा ल्याएको प्रस्ताव तुहाउन नेपाली कांग्रेस र मालेले गरेको षडयन्त्रका विरुद्ध उँभिदै राष्ट्रिय सार्वभौमिकता र स्वतन्त्रताको पहरेदारी गर्न सम्पूर्ण देशभक्त नेपालीहरुमा हार्दिक आह्वान गर्दछौँ,’ विज्ञप्तिमा भनिएको थियो ।

संसदमा त्यतिबेला पनि ओलीले भारतीयहरुले कालापानीमा खुकुरी नचाउन हुने, राष्ट्रिय मामिलामा हामी किन छलफल गर्न नहुने ? भन्दै अडान लिनुभएको थियो ।

पौडेल ०५१ सालको प्रतिनिधिसभामा सभामुख निर्वाचित भएर ५ वर्ष सेवा गर्नुभएको थियो ।  २०५१ सालको मध्यावधि निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको एमाले  २०५४ सालमा विभाजन भएको थियो । एमाले विभाजन हुँदा पौडेल सभामुख नै हुनुहुन्थ्यो । एमाले २०५८ मा एकीकरण भएको थियो ।