उपराष्ट्रपति निर्वाचनका लागि आज उमेदवारको अन्तिम नामावली प्रकाशन

काठमाडौं, २८ फागुन । उपराष्ट्रपतिको निर्वाचनका लागि आज उमेदवारविरुद्ध परेको उजुरीउपर जाँचबुझ गरि उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने भएकाे छ ।

निर्वाचन कार्यतालिका अनुसार आज उमेदवारले नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची रहेको छ।

उपराष्ट्रपतिको निर्वाचनका लागि हिजो उमेदवारको मनोनयन दर्ता गरिएको थियो । हिजो नै उमेदवारविरुद्ध उजुरी दिने निर्वाचन कार्यतालिका थियो।

उपराष्ट्रपति पदका लागि जनता समाजवादी पार्टी नेपालबाट उमेदवार दिएका रामसहायप्रसाद यादवविरुद्ध उजुरी परेको छ। राष्ट्रपति पदमा पुरुष निर्वाचित भइसकेको भन्दै नेकपा एमाले र जनमत पार्टीले यादवको उमेदवारी खारेजको मागसहित उजुरी दिएका हुन् ‍।

राष्ट्रपति र उपराष्ट्रपति छुट्टाछुट्टै लिंगको हुनु पर्ने संवैधानिक प्रावधान रहेको छ।

उपराष्ट्रपति चयनका लागि चैत ३ गते मतदान हुनेछ। मतदान बिहान १० बजेदखि दिउँसो ३ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ।

नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, जनता समाजवादी पार्टी नेपालबाट रामसहायप्रसाद यादव र प्रमिला यादव, राष्ट्रिय जनमत पार्टीबाट ममता झाको उमेदवारी परेको छ।