पीएनजीविरुद्ध नेपाल ९ विकेटले विजयी
काठमाडौं : आईसीसी विश्वकप लिग २ क्रिकेट अन्तर्गत पपुवा न्युगिनी पीएनजीविरुद्ध नेपाल ९ विकेटले विजयी भएको छ।
कीर्तिपुर क्रिकेट मैदानमा पीएनजीले दिएको जम्मा ९६ रनको लक्ष्य नेपालले ७ दशमलब ४ ओभरमा एक सय रन बनाउँदै जितेको हो।
आफ्नो इनिङको २५४ बल खेल्न बाँकी छँदै नेपाल लक्ष्यमा पुगेको थियो । नेपालका लागि आसिफ शेखले २१ बलमा ५३ रनको नटआउट पारी खेले । उनले ८ चौका र ३ छक्का प्रहार गरे । २ छक्का र ४ चौका हिर्काएका कुशल भुर्तेलले १४ बलमा ३३ रन बनाए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीलाई नेपालले ३२ ओभरमै अल आउट गरेको हो। पीएनजीलाई ९५ रनमा रोक्न नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिए।
यस्तै ललित राजवंशी र कुशल मल्लले समान २–२ तथा सोमपाल कामीले १ विकेट लिए । पीएनजीका लागि असाद भालाले सर्वाधिक २० रन जोड्दा चार ब्याटरले मात्र दोहोरो अंकको स्कोर बनाउन सके ।
नेपालले लिगमा अब बाँकी एक खेलमा जित निकाल्न सके अंक तालिकाको तेस्रो स्थानमा रहँदै सिधै एक दिवसीय विश्वकप छनोटमा स्थान बनाउने छ ।
७ देश सम्मिलित विश्वकप लिग टूमा नेपाल ३४ खेलबाट ३६ अंक जोडेर तालिकाको चौथो स्थानमा छ।