एनपीएलमा आज दुई खेल : पहिलो खेलमा काठमाडौं र सुदूरपश्चिम भिड्दै
काठमाडौं, २७ कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स तथा चितवन राइनोज र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ ।
आज दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा काठमाडौं गोर्खाजले सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ । पाँच खेल खेलेको काठमाडौं चार जित र एक हारसहित ८ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ । समान ८ अंक रहेको सुदूरपश्चिमले भने ६ खेलमा चार जित र दुई हार बेहोर्दै तेस्रो स्थानमा छ ।
यसैगरी, आजै दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन् ।
चितवन पाँच खेलमा दुई जित र दुई हार तथा एक खेल वर्षाका कारण रद्द भएपछि ५ अंकसहित तालिकाको पाँचौँ स्थानमा छ । जनकपुर भने ६ खेलमा दुई जित र चार हारसहित ४ अंक जोडेर छैटौँ स्थानमा रहेको छ ।
आजका दुवै खेल अंक तालिकाको समीकरणका दृष्टिले महत्त्वपूर्ण हुनेछन् । विशेषगरी शीर्ष स्थानको होडमा रहेका काठमाडौं र सुदूरपश्चिमबीचको प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ भने चितवन र जनकपुरका लागि पनि जितले प्लेअफ यात्रामा महत्त्वपूर्ण प्रभाव पार्नेछ ।
