उपराष्ट्रपति निर्वाचन आज, आजै परिणाम आउने

काठमाडौं, ३ चैत । उपराष्ट्रपति पदका लागि आज निर्वाचन हुँदैछ । मतदान नयाँ बानेश्वरस्थित संघीय संसद् भवनकाे ल्होत्से हलमा हुन लागेको हो ।
मतदान बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ भने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको
निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु गर्ने र साँझ ६ बजेभित्र निर्वाचन मत परिणाम सार्वजनिक गर्ने तयारी गरिएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन् ।
उपराष्ट्रपति पदको निर्वाचनका लागि नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य (बोहरा), सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहायप्रसाद यादव, जसपाकै प्रमिला कुमारी यादव र जनमत पार्टीर्की ममता झा गरी चार उम्मेदवार छन् ।
जसपाकी प्रमिला कुमारीले आफ्नो उम्मेदवारी निष्कृय भएको घोाषणा गरेकी छन् । तर उम्मेदवारी फिर्ता लिने समयभन्दा पछि मात्रै उम्मेदवारी निष्कृय भएकाले मतपत्रमा उनकोसमेत नाम छ ।
उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसद् र प्रदेशसभा सदस्य मतदाता हुन्छन् । उनीहरुका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ ।
निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचन, २०७९ का लागि दुई प्रकारको मतपत्रको व्यवस्था गरेको छ । संघीय संसद्का सदस्यले मतदान गर्ने प्रयोजनका लागि रातो मसी र प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि हरियो मसीले मतपत्र छपाइ गरिएको छ । मतपत्रमा उम्मेदवारको तस्विर र नाम समावेश गरिएको छ ।
उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसद् र प्रदेशसभाका सदस्य मतदाता रहेका छन् । संघीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ ।