करिब ६ हजार शिक्षकको बढुवा पुनरावलोकन नतिजा प्रकाशन हुँदै

काठमाडौं, ११ कात्तिक । शिक्षक सेवा आयोगले बढुवाको योग्यताक्रम सूचीमा परेका करिब ६ हजार शिक्षकको उजुरीमाथि पुनरावलोकन गरी नतिजा प्रकाशन गर्ने कार्यलाई तीव्रता दिएको छ ।

आयोगका प्रवक्ता परशुराम तिवारीका अनुसार बढुवा सिफारिस समितिको सचिवालयबाट भएको निर्णयअनुसार ७५ प्रतिशत कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवाको योग्यताक्रम सूची धमाधम सार्वजनिक भइरहेको छ ।

‘शिक्षक सेवा आयोग कार्य सञ्चालन कार्यविधि, २०७८’ (संशोधनसहित) को परिच्छेद १५ मा भएको व्यवस्थाअनुसार प्राप्त कागजात तथा प्रमाण अध्ययन गरी सम्बन्धित जिल्ला र तहका शिक्षकको बढुवा नतिजा कायम गर्ने प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ ।

विभिन्न प्रदेशका शिक्षा हेर्ने मन्त्रालयअन्तर्गतका शिक्षा विकास निर्देशनालयले गरेको कार्यसम्पादन मूल्याङ्कनविरुद्ध परेका उजुरी अध्ययन तथा छानबिन गरी आयोगले पुनरावलोकनको नतिजा प्रकाशन गर्दै आएको थियो । तर, पछिल्लो छ महिनादेखि आयोगका पदाधिकारी रिक्त रहेकाले पुनरावलोकनको काम रोकिएको थियो ।

आयोगले यही कात्तिकमा माध्यमिक द्वितीय तहअन्तर्गत इलाम, सुनसरी, झापा र सोलुखुम्बुको पुनरावलोकन नतिजा सार्वजनिक गरेको छ । यसअघि असोज २९ गते प्राथमिक द्वितीय तहअन्तर्गत लमजुङ, बाग्लुङ, गोरखा, नवलपरासी बर्दघाट सुस्ता पूर्व र कास्कीको नतिजा पनि प्रकाशन गरिएको थियो ।

नेपाल सरकारले गत भदौ २५ गते आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्सालसहित पदाधिकारी नियुक्त गरेको थियो । यसअघि गत वैशाख १८ गते जारी ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ का कारण आयोगका पदाधिकारी रिक्त भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *