उपराष्ट्रपति निर्वाचनका लागि मतदान सुरू
काठमाडाैं, ३ चैत्र । उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद भवन नयाँ बानेश्वरमा मतदान सुरू भएको छ। मतदान बिहान १० बजेबाट मतदान सुरू भएको हो।
मतदान दिउँसो ३ बजेसम्म हुनेछ भने संघीय सांसद र प्रदेशसभाका सदस्य गरी ८८१ जनाले मतदान गर्नेछन् ।
पहिलो मतदान सत्ता गठबन्धनबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवले गरेका छन्। अन्य सांसदहरुले पनि अहिले उपराष्ट्रपति पदका लागि मतदान गर्ने क्रम जारी रहेको छ।
संसद् भवनको ल्होत्से हलमा दुई मतदान केन्द्रको व्यवस्था गरिएको छ। मतदान सम्पन्न भएलगत्तै गणना सुरु गरिने र साँझ ६ बजेसम्म परिणाम सार्वजनिक गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
एमालेका तर्फबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार छिन् भने जनता समाजवादी पार्टीबाट रामसहायप्रसाद यादव छन् ।
जनमत पार्टीबाट ममता झा उम्मेदवार छिन् । उनलाई लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टीले साथ दिएका छन्। यादवलाई भने कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन्।