प्रधानमन्त्री प्रचण्डविरूद्ध युवाहरूले गरे नाराबाजी

काठमाडाैं, ७ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्ध नयाँ बानेश्वरमा युवाहरूले नाराबाजी गरेका छन् ।

प्रधानमन्त्री प्रचण्ड मंगलबार राजधानीमा आयोजित ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको कार्यक्रममा जाँदै गर्दा तीन जना युवाहरूले प्रधानमन्त्रीविरूद्ध नाराबाजी गरेका हुन्।

कार्यक्रममा एक युवाले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै प्रहरीलाई आग्रह गरेका थिए।

तर प्रहरीले ती युवालाई समाउन खोज्दा उनले ‘आतंककारी प्रचण्ड मुर्दावाद’ भन्दै नारा लगाएका थिए। त्यसबीचमा अर्को एक जना युवाले ‘प्रहरीले मुख बन्द गर्न पाइँदैन’ भन्दै नारा लगाए।

नारा लगाउने दुवै जनालाई प्रहरीले गाडीमा राख्दै गर्दा दुवै जना युवाले ‘गरिब मारा प्रचण्ड मुर्दावाद’, ‘मूल्यवृद्धि खारेज गर’, ‘नालायक सरकार होसियार’, ‘युवालाई मार्न पाइँदैन यस्तो सरकार चाहिँदैन’, ‘७७ जिल्लाका युवा एक हौं’ भन्दै नाराबाजी गरेर विराेध जनाए।

उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएसँगै कार्यक्रम स्थलमा प्रधानमन्त्री दाहाल पुग्न नपाउँदै प्रधानमन्त्रीकै अगाडि एक युवाले ‘बैंकको मिटर ब्याज मिनाह गर्’ भन्दै नारा लगाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *