आगामी आम निर्वाचनमा ५१ प्रतिशत बहुमत सिट जित्ने लक्ष्यका साथ एमाले मिसन ग्रासरुट अभियानमा छः ओली

झापा, १० चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अबको आम निर्वाचनमा पार्टी एक्लैले कम्तीमा ५१ प्रतिशत बहुमत सिट जित्ने लक्ष्यका साथ मिसन ग्रासरुट सञ्चालन गरिएको  बताउनुभएको छ ।

झापामा सञ्चालन भइरहेको ‘मिसन ग्रासरुट’ को आज आयोजित मध्यावधि समीक्षा भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्तालाई अनुशासित, विनम्र र जनताको साथी बनेर गाउँमा जान निर्देशन दिनुभयो ।

‘आगामी चुनावमा एमाले एक्लैले बहुमत हासिल गर्ने उद्देश्य सफल बनाउन यो अभियान सुरु गरिएको हो’, उहाँले भन्नुभयो, ‘मिसन ग्रासरुटका कार्यक्रम लिएर कार्यकर्ता र जनताको घरआँगनमा पुग्दा तपाईँहरूको व्यवहार मालिकजस्तो होइन, साथीजस्तो हुनुपर्छ ।’

नेकपा (एमाले) विरुद्ध केन्द्रमा १० दलीय गठबन्धन बनाए पनि आम जनता एमालेकै पक्षमा रहेको उहाँको विश्वास छ ।  पार्टी सुदृढीकरण तथा विस्तार अभियानले आन्तरिक पार्टी जीवनका अन्तरविरोधहरूको समाधान गर्दै पार्टीलाई देशको सबैभन्दा बलियो, जनाधारयुक्त र अनुशासित राजनीतिक शक्तिका रूपमा स्थापित गराउने अध्यक्ष ओलीले बताउनुभयो ।


उहाँले कोशी प्रदेशको नामाकरण कुनै पार्टी र जाति विशेषसँग नजोडिएको हँुँदा यसको विरोध गर्नु आवश्यक नरहेको वताउँदै विरोध गरिरहेकाहरूलाई एमालेका कार्यकर्ताले सम्झाउनुपर्ने बताउनुभयो ।

कोशी कुनै जाति र पार्टीको पेवा होइन, हामी सबैको सभ्यताको साझा उद्गमस्थल हो’, उहाँले कोशी प्रदेश नामाकरणका लागि प्रदेशका मुख्यमन्त्री र सांसदलाई बधाई दिँदै भन्नुभयो, ‘कौशिक ऋषिका नामबाट प्रदेश बनाइयो भनेर पनि भ्रम छरिएको सुनिएको छ । तर एउटा व्यक्ति वा ऋषिको नाममा कोशी नदीको नाम रहेको कुरा सत्य होइन । मानिस उत्पन्न हुनुभन्दा पहिले कोशी उत्पन्न भएको थियो । कोशी एउटा महान् सभ्यता हो, प्रदेशमा बसोबास गर्ने सबै जाति, धर्म र समुदायको जीवनदायी साझा पहिचान हो ।’

झापाका १५ पालिका र १३१ वटा वडा तहमा अभियान सञ्चालन भइरहेको नेकपा (एमाले) झापाका अध्यक्ष दीपक कार्कीले जानकारी दिनुभयो ।