नेपाल एयरलाइन्स र एयर इन्डियाका जहाज झन्डै ठोक्किए, तीन एटीसी निलम्बित

काठमाडौं, १२ चैत । नेपाल नागरिक उड्डयन प्राधिकरणले एकै समयमा एकै उचाइमा उडानको अनुमति दिएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका तीन एटीसीलाई कारबाही गरेको छ ।

साे घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका तीन एटीसीलाई आइतबार कारबाही गरेको क्यानले जनाएको हाे ।

चैत १० गते शुक्रबार बिहान नेपाल एयरलाइन्स र एयर इन्डियाको जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको थियो। मलेसियाको क्वालालम्पुरबाट काठमाडौं आउँदै गरेको नेपाल एयरलाइन्स र नयाँदिल्लीबाट काठमाडौं आइरहेको एयर इन्डियाको जहाज झन्डै ठोक्किएका थिए।

१९ हजार फिटमा रहेको एयर इन्डियाको जहाज एक्कासी १५ हजार फिटमा झर्दा नजिकै रहेको नेपाल एयरलाइन्सको जहाजसँग झन्डै ठोक्किने अवस्था आएको थियो। नेपाल एयरलाइन्सको जहाज पनि ७ हजार फिट तल ओर्लिएपछि सम्भावित ठूलो दुर्घटना टरेको थियो।

घटनापछि नेपाल एयरलाइन्सको जहाजलाई विमानस्थलको तल्लो भागमा र एयर इन्डियाको जहाजलाई माथिल्लो भागमा अवतरण गराइएको थियो।