मिसन ग्रासरुट अभियानमा ओलीको देश दौडाहाः अर्घाखाँची पुगेर प्रचण्डलाई कटाक्ष–मति बिग्रेकालाई सपार्न सकिएन’

अर्घाखाँची, १२ चैत । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई तिखो आलोचना गर्नुभएको छ । ओलीले प्रचण्डप्रति लक्षित गर्दै मति बिग्रेकाको मति सप्रिन्छ कि भनेर प्रधानमन्त्री बनाएको तर, नसप्रिएको बताउनु भएको हो ।

मिसन ग्रासरुट अभियानअन्तर्गत अर्घाखाँची पुग्नु भएका ओलीले प्रचण्डको कटाक्ष गर्दै भन्नुभयो, ‘मति बिग्रेकाको मति सप्रिन्छ कि भनेर मौका दिन खोजियो । तर, हामीले देख्यौं सरकार बनाइदिएको भोलिपल्टबाट मैले हेरें चालमाल ठिक छैन ।’ उहाँले प्रचण्ड सपार्न आफू पछाडि बसेर सरकार बनाएको तर उनी नसप्रिएको आलोचना गर्नुभयो । ओलीले एमालेलाई जालझेल गरेको हटाएको भन्दै मुल ढोकाबाट फेरि सिंहदरबार छिर्ने दाबी गर्नुभयो ।

‘आवश्यकता एकतिर थियो । तर, संसदको अंकगणित गलत ढंगले प्रयोग गरेर हटाइयो । तर, हामी जस्केलाबाट होइन, झ्यालबाट होइन, भेन्टिलेसनबाट होइन, हामी सिंहदरबारको मुल ढोकाबाट फेरि सिंहदरबार फकिन्र्छौ,’ उहाँले भन्नुभयो ।

पछिल्लो समय ओली मिसन ग्रासरुट (पार्टी सुदढीकरण तथा विस्तार) अभियानमा देश दौडाहा हुनुहुन्छ । हिजो मात्रै पनि उहाँले अभियान अन्तर्गत कपिलवस्तुमा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो । त्यहाँ पनि उहाँले दशतिर फर्किएकाहरूले देशलाई आर्थिक सङ्कटतर्फ धकेलेको वताउनुभएको थियो ।

पूर्व प्रधानमन्त्री ओलीले त्यहाँ सम्वोधन गर्दै एमालेको सरकारका पालामा शुभारम्भ गरेका राष्ट्रिय गौरवका योजना आर्थिक सङ्कटका कारण रोकिएको वताउनुभएको थियो । उहाँले एमालेले थालनी गरेका राष्ट्रिय गौरवका योजना कार्यान्वयनका निम्ति वडादेखि प्रतिनिधि सभासम्म मिसन ५१ प्रतिशत निर्वाचित हुनुपर्नेमा जोड दिनुभएको थियो ।

अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारका पालामा हुलाकी सडक, मदन भण्डारी मार्ग, रेलवे, उपल्लो तामाकोशी, मेलम्ची खानेपानी , तुइन विस्थापन गर्ने जस्ता महत्वपूर्ण अभियानलाई कार्यान्वयन गर्दै देशको आर्थिक वृद्धिदर ७ प्रतिशतभन्दा बढी पुर्याइएको स्मरण गर्नुभएको थियो ।

अध्यक्ष ओलीले आफुहरूको पालामा युवा विदेश जाने क्रम १८ प्रतिशतले न्यून गरिएको पनि वताउनुभएको थियो । उहाँले नागरिकलाई समान अधिकार, सामाजिक न्यायसहितको समानता चाहेको वताउँदै गर्दै समाजलाई सदाचारयुक्त, सुशासनयुक्त समाज निर्माण, देशको स्वाधिनता, स्वतन्त्रता, नेपाली भूमिको रक्षा, देशको स्वाभिमान र गौरव बढाउन, बलियो राष्ट्र बनाउन नेकपा ९एमाले० को बलियो संगठन आवश्यक रहेको चर्चा गर्नुभएको थियो । ।