बुद्ध जीवनीमा आधारित नाटकहरूको महोत्सव

काठमाडौं, १४ चैत । अन्तर्राष्ट्रिय नाट्य दिवसको उपलक्ष्यमा काठमाडौंमा बुद्ध जीवनीसँग सम्बन्धित नाटकहरूको महोत्सव शुरु भएको छ । राष्ट्रिय नाचघरमा हिजोदेखि शुरु भएको यो महोत्सव पाँच दिनसम्म सञ्चालन हुनेछ ।

‘बुद्ध थियटर फेस्टिवल–२०२३’ नाम दिइएको यो महोत्सवको पहिलो दिन हिजो उद्घाटन र पुरस्कार वितरणको कार्य गरिएको थियो भने आजदेखि बुद्ध जीवनीमा आधारित विभिन्न नाटकहरू प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।

महोत्सवभरि बुद्ध जीवनीमा आधारित छ वटा नाटकहरू प्रदर्शन गर्ने कार्यक्रम रहेको छ । त्यसमा थ्री लाफिङ मंक्स, प्रतिविम्ब, पटाचारा, पश्चाताप, आम्रपाली र चक्षु नामक नाटकहरू रहेका छन् ।

साथमा बुद्ध जीवनी र नाटक मञ्चनसँग सम्बन्धित कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम पनि रहेको छ ।

महोत्सव बागमती प्रदेशको पर्यटन मन्त्रालय, सांस्कृतिक संस्थान र डबली थिएटरको संयुक्त आयोजनामा भएको हो । भगवान गौतम बुद्धको दर्शन र बोधिसत्वको प्रभावलाई रंगमञ्च मार्फत विश्वमाझ चिनाउने उद्देश्यले यो महोत्सव आयोजना गरेको बताइएको छ ।